पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक
प्रेस काउन्सिल नेपालले मुलुकमा प्रकाशित हुँदै आएका पत्रपत्रिका वर्गीकरणको पछिल्लो नतिजा सार्वजनिक गरेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिले गरेको वर्गीकरण प्रतिवेदनको आधारमा उक्त नतिजा सार्वजनिक गरिएको हो ।
काउन्सिलले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७५/०७६ मा वर्गीकरणको निम्ति आवेदन दिने ८ सय ८३ (प्रदेशस्तर १ सय ६६, राष्ट्रियस्तर १ सय ६५, स्थानीयस्तर ५ सय ५२) पत्रपत्रिकाको वर्गीकरण गरिएको बताइएको छ ।
जसअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ‘क’ वर्ग अन्तर्गत २ सय १९ वटा, ‘ख’ वर्गमा ४ सय ७६, ‘ग’ वर्गमा १ सय ३७ र ‘घ’ वर्गमा १५ वटा परेका छन् । त्यसैगरी नियमित तर हुबहु र वर्ग कायम नभएका पनि ३६ वटा रहेको जानकारी दिइएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिएका ८ सय ७८ (प्रदेशस्तर १ सय ६९, राष्ट्रियस्तर १ सय ४९, स्थानीयस्तर ५ सय ६०) पत्रपत्रिकाको पनि छुट्टै वर्गीकरण गरिएको छ । काउन्सिलका अनुसार ‘क’ वर्गमा २ सय ३९, ‘ख’ वर्गमा ४ सय ३१, ‘ग’ वर्गमा १ सय ६३ र ‘घ’ वर्गमा कुनै पनि रहेका छैनन् । उक्त वर्ष नियमित तर हुबहु र वर्ग कायम नभएकामा ४५ वटा पत्रपत्रिका परेका छन् ।
काउन्सिलले गत शुक्रबार बसेको बोर्ड बैठकले वितरण सम्परीक्षण समितिबाट प्राप्त प्रतिवेदनका आधारमा नतिजा सार्वजनिक गरेको बताएको छ । प्रकाशित नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको २५ प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने निर्णय गरिएको छ ।
प्रकाशित नतिजाको विस्तृत विवरण काउन्सिलको वेबसाइट र फेसबुक पेजबाट हेर्नसकिने जानकारी दिइएको छ ।
[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/01/ABC-2075-076-final-Result-_.pdf”]
टिप्पणीहरू