मकवानपुरमा ट्रिपरमाथि दिनहुँ कारबाही, बोक्न छाडेनन् ओभर लोड
मकवानपुर प्रहरीले पछिल्लो समय निरन्तर बढी तौल बोकेका सवारी साधनलाई कारबाही गरिरहेको छ । तर, तिनै ट्रिपरले तोकिएकोभन्दा बढी भार बोक्न छाडेका छैनन् ।
राजमार्गमा तोकिएभन्दा बढी भार बोक्ने ६४ वटा ट्रिपरलाई आज कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।
उहाँकाअनुसार ढुंगाखानी क्षेत्रबाट बागमती प्रदेशको राजधानी हेटौँडास्थित सिमेन्ट उद्योगहरुमा ढुंगा ओसारपसार गर्ने सबै ट्रिपरले ओभर लोड बोक्ने गरेका छन् ।
त्रिपालले छोपेर बढी लोड बोक्दा टनका आधारमा ट्रिपर सञ्चालकले ज्याला पाउने भएकाले ओभर लोड बोक्ने क्रम निरन्तर बढिरहेको पाइएको छ । व्यापक जनगुनासोको आधारमा प्रहरीले ट्रिपरलाई चेकजाँच गरी जरिवाना तिराएको हो ।
तर, एकै रुटमा निरन्तर जरिवाना तिराउँदा पनि ट्रिपरले तोकिएकोभन्दा बढी भार बोक्न छाडेको छैनन् । राक्सिराङ गाउँपालिका, मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा रहेका खानीबाट विभिन्न सिमेन्ट उद्योगका लागि ढुंगा बोक्न सयौँ ट्रिपरहरु सञ्चालनमा छन् ।
टिप्पणीहरू