‘पाप पखाल्न’ नारायणहिटीमा महायज्ञ ?
नारायणहिटी दरबार संग्रहालयको पूजा घरभित्र महायज्ञ लगाउने तयारी शुरु भएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएर ‘कू’ गरेको दिन माघ १९ गतेदेखि महायज्ञ हुन लागेको हो । ज्ञानेन्द्रले २०६१ माघ १९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई ‘कू’ गरेका थिए ।
अहिले उनै देउवा प्रधानमन्त्री रहेको बखत दरबारमा महायज्ञ गर्न लागिएको छ । महायज्ञ नमस्ते परोपकारी अभियान र सतीश्राप मोक्षधामले आयोजना गर्न लागेका हुन् । उनीहरुले गत पुस २ गते संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएर महायज्ञको निम्ति स्थान उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।
मन्त्रालयका सचिव महेश्वर न्यौपानेसहितको बैठकले महायज्ञ सञ्चालन गर्न दिने निर्णय गरेबमोजिम ठाउँ उपलब्ध गराइएको नारायणहिटी दरबार संग्रहालयका प्रवक्ता बुध्दिबहादुर गुरुङले जानकारी दिएका छन् ।
‘मन्त्रालयको पत्रअनुसार हामीले महायज्ञ सञ्चालनको लागि अनुमति दिएका छौं,’ प्रवक्ता गुरुङले भने । उनका अनुसार मुलुकभित्र अमनचयन,सुव्यवस्था कायम राख्न र देशलाई विभिन्न संकटबाट मुक्ति दिलाउन महायज्ञ आयोजना गर्न लागिएको आयोजकले पेश गरेको पत्रमा उल्लेख छ ।
महायज्ञको सम्पूर्ण तयारी पूरा भइसकेको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक ताराबहादुर कुँवरले पनि जानकारी दिएका छन् । उनले भने, ‘दरबार हत्याकाण्डपछि त्यहाँ पूजाआजा नभएकाले पनि महायज्ञ गर्न लागिएको हो ।’
‘हिजोको राजनीतिक इतिहाससँग माघ १९ जोडिएको छ, यो आफैँमा महत्वपूर्ण छ । महायज्ञ गर्दा राष्ट्रकै भलो हुन्छ र हिजोको पाप पखालिन्छ भन्ने हामीले आशा लिएका छौं,’ कुँवरले भने । उनका अनुसार माघ २९ गतेसम्म चल्ने महायज्ञमा २१ जना पुरोहितले होम गर्नेछन् । देशमा शान्ति स्थापनाको निम्ति आह्वान गरिनेछ ।
टिप्पणीहरू