“लालपुर्जा बाँडिन्छ, इतिहास रचिन्छ” :

“लालपुर्जा बाँडिन्छ, इतिहास रचिन्छ” :

उदयपुरको सदरमुकाम गाईघाटमा राष्ट्रिय भूमि आयाेगकाे जिल्ला कार्यालय स्थापना भएको छ ।जिल्ला समन्वय समितिको भवनमा स्थापित कार्यलयकाे उदघाटन आयाेगका केन्द्रीय अध्यक्ष केशव पौडेलले गर्नु भएको हाे ।

कार्यालय उदघाटन गर्दै पौडेलले उदयपुरमा सुकुम्वासी समस्या समाधान , अव्यवस्थित बसोवास र पुराना अधुरो कार्यहरू सम्पन्न गर्दै छोटो समयमा लालपुर्जा वितरण गरेर इतिहास रच्ने दाबी गर्नुभयो । उहाँले माघभित्रै खाली सदस्यहरूकाे पदपूर्ति गरिने दाबीसमेत गर्नुभएको छ ।

हिजोको आयोगले गरेका सम्पूर्ण कामको अपनत्व ग्रहण गर्ने बताउँदै लालपुर्जा वितरण गर्न ढिलाइ नहुने बताउनु भयो । समितिमा जिल्लास्थित नापी , मालपोत र वन डिभिजनका सरकारी कार्यालय प्रमुख पदेन सदस्य छन् । आयोगका जिल्लास्थित कार्यालयकाे रूपमा याे पहिलो हाे ।

समितिले उदयपुरको ४ नगरपालिका र ४ गाउँपालिकामा रहेका करिब १५ हजार अव्यवस्थित बसोबास र भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने तयारी छ । जिल्ला अध्यक्ष बलबहादुर तामाङले सुकुम्वासी समस्या समाधान गर्न समिति कृयाशील भइरहेको बताउनुभयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पुस्तौंदेखि भोग चलन गरेको जग्गाको स्वामित्व नपाएको गुनासो व्यक्त गर्दै एक दुई महिनामै लालपुर्जा वितरण गर्न आग्रह गर्नु भयो । त्यसैगरी नेपाली काँग्रेसका भीमचन्द्र राईले आयाेगलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

माओवादी केन्द्रका रूद्र अधिकारी, वरिष्ठ पत्रकार काैशल चेम्जोङ, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले शुभकामना मन्तव्य राखेका थिए ।

टिप्पणीहरू