गुपचुप भयो १६ वर्षीया पुतलीको रहस्यमय मृत्यु !

गुपचुप भयो १६ वर्षीया पुतलीको रहस्यमय मृत्यु !

-पूजा लम्साल

भनिन्छ, नेपालमा पहुँच भएन र राजनैतिक प्रतिशोधले होहल्ला गरेन भने धेरै अपराधलाई गुपचुप दबाइन्छ । यस्ता धेरै अपराधहरु होलान् जसलाई प्रहरीले पनि प्राथमिकता दिएर अनुसन्धान गर्दैन र त्यसको रहस्य गर्भमै रहन्छ । मोरङको कानेपोखरी गाउँपालिका ३ हरकपुर टोलमा गत बैशामा भएको एउटा घटना पनि त्यसैगरी सेलाएको छ ।

२०७८ बैशाख २२ गतेको घटनामा १६ वर्षीया पुतली भनिने सीता खवासको मृत्यु भयो, रहस्यमय उक्त मृत्यु अहिलेसम्म गुपचुप छ । मकैबारीभित्र दिउँसो मृत अवस्थामा फेला परेकी पुतलीको मृत्युलाई प्रहरीले पानीमा डुबेर मृत्यु भएको भन्दै भवितव्य बनाएपछि अनुसन्धान नै बन्द गरिदिएको हो ।

स्थानीय पञ्चुचौधरीकी कान्छी छोरी १६ वर्षीया पुतली ५ वर्ष अघिदेखी स्थानीय प्रकाश खड्काको घरमा घासपात गर्ने र वस्तुभाउ स्याहार्ने काम गर्थिन् । दिनभरको काम सकेर पुतली सँधै साँझमा सुत्न चाँही आफनै मामा प्रकाश खवासको घरमा जान्थिन् ।

घटनाको दिन मालिक प्रकाशले बारीमा हरियो मकै भाँच्न भनेर पुतलीलाई घरमै पुगेर बोलाएका थिए । पुतली पनि मालिकले अह्राएअनुसार दिउँसो साइकल चढेर मकै भाँच्न बारीमा पुगेकी थिइन् ।

तर सकुशल साइकल चढेर खेतमा पुगेर डोको बोक्दै मकै भाँचेकी पुतली अपरान्ह मकैबारीमा पसेको १५ मिनेटपछि नै घोप्टो परेर लडेको अवस्थामा मृत फेला परेकी थिइन् ।मकै भाँच्न गएकी पुतली ढिलोसम्म नआएपछि प्रकाश आफैँले बारीमा गएर हेर्दा पुतलीको शव देखेको बताएका थिए । अन्दाजी ४२ वर्षका प्रकाश खड्का र पुतलीकी नातामा माइजु पर्ने सञ्जु चौधरी (अन्दाजी ४० वर्षीया) लगायतले प्रहरीलाई खबर नगरी मकैबारीबाट हतार हतार शव उठाएर घरमा पुर्याएका थिए ।

त्यसपछि उनीहरुले लुगा मात्र फेरिदिएनन् पुतलीको शरिरमा तेलबेसार समेत दलेको बताइन्छ । त्यसपछि पुतलीलाई सर्पले टोकेको भनेर हल्ला फैलाए । केही परको दोभाना बजारबाट एक जना स्वाथ्यकर्मी बोलाएर ल्याए । स्वाथ्यकर्मीले पुतलीको मृत्यु भइसकेको बताइदिए ।

तर उनीहरुले पुतली जिउँदै रहेको भन्दै उपचारका लागि एम्बुलेन्स बोलाएर जिल्ला अस्पताल रंगेली पुरयाए । रंगेली अस्पतालले पुतलीलाई मृत घोषणा गरिदियो । त्यसपछि मात्र पुतलीको शव परिक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो ।

घटना अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय पथरीका अनुसार पुतलीको मृत्यु घोप्टो पर्दा निस्सासिएर भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख भएको बताइन्छ । तर प्रहरीले उक्त रिर्पोट हालसम्म सार्वजनिक गरेको छैन ।

यता पुतलीका बाबुआमा र आफन्त तथा गाउँलेहरुले उनको मृत्यु अस्वाभाविक रहेकाले पुनः ‘फाइल खोल्न’ माग गरिरहेका छन् । केहीले पुतलीको संवेदनशील र गोप्य अंगमा रगत देखिएकाले उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका पनि गरेका छन् ।

तर पुतलीको शव मकैबारीबाट बोकेर ल्याउने मालिक प्रकाश खड्का र पुतलीकी माइजुले चाँही उनको मृत्यु मृर्गी लागेर निस्सासिएर भएको बताउँदै आएका छन् । जबकी मृर्गी रोगी भएको भए पुतलीलाई पहिले पनि हुनुपर्ने तर यसअघि कहिल्यै पनि उनी छटपटिएको कसैले पनि बताएका छैनन् ।

अर्कोतर्फ मकैबारीमा मृत फेला परेकी बालिकाको शव प्रहरी नबोलाई किन हतार हतारमा उठाइयो ? शरीरको लुगा फेरेर हतार हतारमा तेल बेसार किन दलियो ? दोभानाबाट आएका स्वास्थ्यकर्मीले पुतलीको मृत्यु भइसक्यो भनिसकेपछि फेरि एम्बुलेन्स बोलाएर शवलाई रंगेली अस्पताल किन लगियो ? अझैसम्म आफन्तलाई शव परिक्षणको रिर्पोट किन देखाइएन ? अनि हतारमा पुतलीको शव किन दाहसंस्कार गराइयो ? भन्दै आफन्तले घटनाको पुनः अनुसन्धानको माग गरेका हुन् ।

उनीहरुले निवेदन दिँदा प्रहरीले चासो नदेखाउनु र मृत्युबारे आफन्तलाई वास्तविकता किन बताउन चाहेन ? र, पुतलीका बाबुलाई मात्र बोलाएर छोरीको भवितव्य मृत्यु भएको भन्दै मचुल्कामा किन सहीछाप गर्न लगाइयो ? लगायत धेरै प्रश्नहरु अझै पनि गाउँलेहरुले पुतलीको मृत्युसँग जोडेर गरिरहेका छन् ।

दिदी सुनिता चौधरीका अनुसार पुतलीको मृत्यु स्वाभाविक नभै हत्या नै हो भन्दै आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा प्रकाश खड्काविरुद्ध किटानी जाहेदी दिएका थिए । तर प्रहरीले २२ जेठसम्म किटानी जाहेरी दर्ता गर्न मानेन । गाउँलेहरु आन्दोलित भएपछि प्रहरीले किटानी जाहेरी दर्ता गर्यो ।

तर आरोपी प्रकाश खडकालाई नियन्त्रणमा लिए पनि म्याद थप नगरी पाँच दिनमै छाडिदिएको थियो । त्यसक्रममा उनीहरुको मोबाइलको कलडिटेलहरुको समेत अनुसन्धान नगरेको तथ्य खुलेको छ ।

उक्त घटनापछि खड्काले दुई बिगाहाभन्दा बढी जग्गा बिक्री गरिसकेका छन् । उनले हतारमा त्यति धेरै जग्गा किन बिक्री गर्नु पर्यो ? भन्ने जिज्ञासा पनि उठाइएको छ । अहिले पनि पुतलीको घटनाबारे गाउँमा चर्चा हुनासाथ प्रकाश झस्कने र प्रहरी देख्नासाथ तर्सने गरेको पुतलीका आफ्न्त बताउँछन् । कसैले पुतलीका माइजु र प्रकाश खड्काबीचको सम्भावित सम्बन्धबारे पनि खोजिबिन गर्नुपर्ने बताएका छन् ।

त्यसबारे पुतलीले थाहा पाएकीले त्यसपछि उक्त योजना बुनिएको हुनसक्ने आकलन एकथरीको छ । त्यसैले आफन्तले पुतलीका मामा सन्तोष र माइजु सञ्जुलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न आग्रह गर्दै आएका छन् । तर प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन ।

सञ्जुले पुतलीको शव बारीबाट ल्याएर कपडा फेर्न र तेलबेसार दल्न सघाएको कारण उक्त घटनालाई सुनियोजित भन्न थालिएको छ । पुतलीको मृत्युअघि प्रकाश राति अबेरसम्म माइजुको चिसा पसलमा मात्र होइन ओछ्यानमा बसेर नै गफिने गर्दथे । यसैले उनले पुतलीको लुगा फर्ने र तेलबेसार दल्न माइजुलाई किन पहिले बोलाए ? यो कोणबाट पनि अनुसन्धान अघि बढाउनुपर्ने बताइन्छ ।

उनीहरुका अनुसार घरगाउँमा अरु महिलाहरु थिएनन् र ? गाउँलेहरुको तर्क र आशंका दुबै छ । केहीले खड्का र अनुसन्धामा खटिएका भनिएका इलाका प्रहरी कार्यालय पथरीका डिएसपीसमेत खड्का थरका भएकाले घटनालाई भवितव्यमा परिणत गराइएको हुनसक्ने भनेका छन् ।

आफन्तले पुतलीको मृत्युको रहस्य पत्ता लगाउन मानवअधिकार आयोगलगायतका निकायमा पनि निवेदन हालेका थिए । तर त्यसमाथि कुनै सुनुवाई भएको थाहा नपाएपछि गाउँलेहरुले भनेका छन्, ‘गरिबलाई ऐन धनीलाई चैन भनेको त्यसै होइन रहेछ ।’

टिप्पणीहरू