एमसीसीमा लडेका बाबुराम र भीम रावल पिएचडी विवादमा
एमसीसी सम्झौतालाई लिएर सामाजिक सञ्जालमा कटाक्षपूर्ण टिप्पणीमा उत्रिएका पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले नेता भीम रावलबीच व्यक्तिगत आरोप प्रत्यारोप चर्किएको छ।
भट्टराईले रावललाई नक्कली विद्यावारिधिको पदवीवाला अरोप लगाएपछि रावलले पनि त्यसको जवाफ दिएका छन् । रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पिएचडीमाथि नै प्रश्न उठाएका थिए ।
बाबुरामले लेखेका थिए, ‘यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन् । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ ।
उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहॉ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली PhD हुन् ?’
त्यसको जवाफ दिँदै आज रावलले लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन।
PhD नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट PhD कसैको नक्कली हुने चर्चा नै हुन्न ।’ स्मरण रहाेस् बाबुरामले भारतकाे जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।
टिप्पणीहरू