बहुबिबाह गर्नेमा महिलाभन्दा पुरुष बढी
श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको तुलनामा श्रीमती वैदेशिक रोजगारीमा गएका पुरुषहरूले बढी दोस्रो विवाह गर्ने गरेको पाइएको छ ।
सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीको पार्श्वचित्र बनाउनको लागि संकलन गरेको तथ्यांकअनुसार महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको संख्या धेरै भेटिएको हो । पूर्वी नेपालका पाँचथर,भोजपुर,मोरङ र सुनसरी जिल्लाका एक/ एक पालिकामा गरिएको अध्ययनमा यस्तो तथ्यांक आएको हो ।
चार जिल्लाका तीन हजार तीन सय ९२ घरपरिवारका चार हजार तीन सय ८७ पुरुष र ५ सय १३ महिला हाल वैदेशिक रोजगारीमा छन् ।
जसमध्ये एक हजार दुई सय ५५ पुरुष विवाहित छन् । हाल वैदेशिक रोजगारीमा रहिरहेका एक हजार दुई सय ५५ पुरुषका ४५ जना श्रीमतीले दोस्रो विवाह गरेका छन् । दोस्रो विवाह गर्नेमा ३ प्रतिशत महिला मात्रै छन् ।
त्यस्तै,वैदेशिक रोजगारीमा गएका पाँच सय १३ महिलामा एक सय ६० विवाहित छन् । एक सय ६० जना वैदेशिक रोजगारीमा रहेका विवाहित महिलाको ५४ पुरुषले दोस्रो विवाह गरेको सुरक्षित आप्रवासन परियोजनाको तथ्यांक छ । दोस्रो विवाह गर्ने ३४ प्रतिशत पुरुष छन् ।
यता, इलाममा पनि दोस्रो विवाह गर्नेमा महिलाको तुलनामा पुरुष नै बढी देखिएको छ । वैदेशिक रोजगारीसम्बन्धी पार्श्वचित्र तयारीको लागि संकलित तथ्यांकअनुसार वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने महिला १ दशमलव ७७ प्रतिशत मात्रै छन् भने श्रीमती वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने पुरुष १३ प्रतिशत रहेका छन् ।
इलाम नगरपालिका क्षेत्रमा एक हजार चार सय १५ परिवारका एक हजार दुई सय ३७ पुरुष र दुई सय दुईजना महिला वैदेशिक रोजगारीमा छन् । एक हजार दुई सय ३७ मध्ये आठ सय ७९ जना पुरुष र दुई सयमध्ये एक सय ३६ महिला विवाहपछि वैदेशिक रोजगारीमा गएका हुन् ।
एक सय ३६ महिलाको २६ जना पुरुषले श्रीमती विदेश गएपछि दोस्रो विवाह गर्दा आठ सय ७९ पुरुषका २२ जना श्रीमतीले दोस्रो विवाह गरेका छन् ।
टिप्पणीहरू