रक्सी पिए पो मापसे पत्ता लाग्छ,गुरुजीले गाँजा खाएर गाडी कुदाए भने नि !
मुलुकका विभिन्न राजमार्ग र विशेषगरी पृथ्वी राजमार्गमा ठूला सवारी साधन गुडाउने चालकहरुले गाँजाको सर्कोमा सवारी हाँक्ने गरेको नयाँ तथ्य पत्ता लागेको छ । मदिरा सेवन गर्दा प्रहरी र यात्रुले समेत थाहा पाउने भएपछि उनीहरुले यात्रामा ‘मस्तसँग’ सवारी साधन हुईंकाउन गाँजाको सहायता लिने गरेका हुन् ।
केही वर्षदेखि धेरै जसो बस,ट्रक र ग्यास बुलेट राजमार्ग नजिकका नदी र भीरमा खस्नुको प्रमुख कारण गाँजा भएको रहस्य खुलेको छ । अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा लैजान ठिक्क पारिएका एक जना ट्रक चालकको पकेटबाट ५ ग्राम गाँजा फेला परेपछि प्रहरी उक्त निश्कर्षमा पुगेको हो ।
‘विगतमा धेरै जना चालकले आफूसहित वा आफू बचेर त्रिशुली नदीमा गाडी फालेको कारण गाँजा हुनसक्ने निचोडमा हामी पुगेका छौं,’ सोह्रखुट्टे चौकीका एक जना प्रहरी अधिकृतले भने । औपचारिक रुपमा पुष्टि नभए पनि प्रहरी उक्त निश्कर्षमा पुग्न लागेको हो । रात्री बस र ट्रकका चालक तथा सहचालकहरु गाँजाले लठ्ठ भएर राजमार्गमा सवारी साधन हाँकेको धेरै जनाले सकारेका छन् ।
मापसे सेवन गर्दा प्रहरी चेकिङमा थाहा पाइने भएकाले थकित शरीरलाई स्फुर्ति दिन चालकहरुले गाँजाको विकल्प रोजेका हुन् । वर्षौंदेखिका एक जना गाँजा अम्मली भन्छन्, ‘अलि बढी खानेबित्तिक्कै झुम्म भइन्छ । थोरै खाँदा मस्तसँग आनन्द आउँछ । त्यहि आनन्दमा गाडी चलाउँदा मात्रै कहिलेकाँही त्रिशुलीमा फालिने हो ।’
“नेपाल प्रहरीसँग गाँजा सेवन गरेको छ वा छैन भनेर चेक गर्ने ब्रेथ लाइजर छैन । अर्कोतर्फ रक्सी वा मादक पदार्थ सेवन गर्ने धेरैले झैझगडा गर्छन् । गाँजावालाले चाहिँ दंगाफसाद गर्दैन ।”
हुन पनि नेपाल प्रहरीसँग गाँजा सेवन गरेको छ वा छैन भनेर चेक गर्ने ब्रेथ लाइजर छैन । अर्कोतर्फ रक्सी वा मादक पदार्थ सेवन गर्ने धेरैले झैझगडा गर्छन् । गाँजावालाले चाहिँ दंगाफसाद गर्दैन । धेरै सर्को लगाए मात्रै हल न चल हुने हो । थोरै तानेर हाँस्दै गाडी चलाउने गरेको धेरैको अनुभव छ ।
दुर्घटनाको बारेमा सोधिएको जिज्ञासामा एक जना चालकले भने, ‘अलिकति तिरिमिरी भएपछि सडकबाट दायाँबायाँ फालिन्छ । नत्र त मज्जा नै हुन्छ ।’
अहिले काठमाडौं जिल्ला अदालतमा त्यस्तै आशंकामा एक जना ट्रक चालकको थुनुवा म्याद थप गरिएको छ । ५ ग्राम गाँजा चालकको पकेटमा फेला परेपछि प्रहरीले मुद्दा अघि बढाउन आवश्यक छानबिन र अनुसन्धान गरिरहेको छ । ‘गाँजा बरामद भएको हो,मुद्दा दायर भएको छैन,हिरासतमा छ,’प्रहरी स्रोतले भन्यो ।
राजमार्गमा पछिल्ला दिनमा बढेको सडक दुर्घटनाको प्रवृत्तिले पनि यस्तो आशंकालाई बढाएको हो । हुन पनि चालकहरुलाई खाजा खाने र चिया पसलमा गाँजा दिइने गरेको नारायणगढ–काठमाडौं रुटमा माइक्रोबस चलाउने एक जना चालकले स्वीकारेका छन् । ट्रक चालकहरुले खाजा र खाना खाने ठाउँ फरक हुने भन्दै उनले बताए,‘राजमार्गमा हिँड्दा गँजडीबाट जोगिनुपर्ने भएको छ । ट्रक र ठूला साधनमा मानवीय क्षति कम भए पनि बसमा भने त्यस्ता चालकले गाडी चलाएमा पचासौंको ज्यान जान सक्छ ।’
टिप्पणीहरू