ठाउँ ठाउँमा भूपू सेना भेला गर्ने जंगी अड्डाको ठहर
भूतपूर्व सैनिकहरुको हित,सेवा सुविधा र गुनासाबारे धारणा बनाउन नेपाली सेनाले सन्चालन गर्दै आएको ‘भूतपूर्व सैनिक सम्मेलन’ यसपटक आगामी चैतमा गरिने भएको छ । भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुलाई लक्षित गरी सेनाको कल्याणकारी बोर्डले सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका सैनिक ब्यरेकहरुमा सम्मेलन गर्न लागेको हो ।
चैत ९ गते दिपायलस्थित श्री नं.५ बाहिनी अड्डा, १० गते धनगढीस्थित श्री भवानी दल गण, २० गते सुर्खेतस्थित श्री पश्चिम कमाण्ड हेडक्वार्टर र २१ गते नेपालगञ्जस्थित श्री नं. ४ बाहिनी अड्डामा सन्चालन हुने सम्मेलनमा सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका १९ जिल्लाका भूपू सैनिक तथा तिनका परिवारका सदस्यहरुको सहभागिता रहने सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ्ग, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लामा बसोबास गरी सोही क्षेत्रको बैंकबाट पेन्सन बुझिरहेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरुलाई सम्मेलनमा आउन सूचना गरेको छ ।
सम्मेलनमा सहभागी हुनेहरुले पेन्सन पट्टा तथा सोको प्रतिलिपि र पासपोर्ट साईजको दुईप्रति फोटोसहित माघ २४ देखि फाल्गुन ३० गतेसम्म आफूले पेन्सन प्राप्त गरिरहेको जिल्लामा तैनाथ सेनाको युनिटमा गई नाम दर्ता गराउन पनि निर्देशनालयले भनेको छ । कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेकाहरुको हकमा नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाण्डौं उपत्यकाको हकमा महाराजगन्जस्थित नेपाली सेना कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ ।
सम्मेलनमा जानेहरुलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरिएको छ भने फटिग क्याप/सल, ट्रयाकसुट/स्वीटर र फस्ट एड किट वितरण गरिने छ । त्यस्तै, बहालवाला तथा भू.पू. सैनिकका अशक्त आश्रितहरुलाई व्हिल चियर तथा वैसाखी वितरण गरिने सेनाले जनाएको छ ।
सम्मेलनका दौरान विभिन्न कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट र उत्कृष्ट लघु उद्यम व्यवसायीहरुलाई पुरस्कार वितरण गरिने छ । जेष्ठ भूपू सैनिक तथा जेष्ठ एकल महिलालाई सम्मान गरिने गर्नुका साथै चार जना वा सो भन्दा बढी सन्तान सेनामा गएका आमा/बाबु मध्ये एक जनालाई कदरपत्र तथा नगद पुरस्कार दिइने पनि बताइएको छ ।
त्यसैगरी, बिरामीहरुलाई विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य उपचार गर्नुका साथै कोरोनाको खोप नलगाएकालाई खोपको व्यवस्था गरिने जनाइएको छ । त्यस्तै, आँखा चेकजाँच गरी आवश्यकताअनुसार नि:शुल्क चस्मा वितरणसमेत गरिनेछ । त्यसका लागि सम्बन्धितले अनिवार्य रुपमा उपचार पुस्तिका लिएर आउनु पर्ने व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ ।
[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/02/PN-नेपाली-सेना-भूतपूर्व-सैनिक-सम्मेलन-२०७८-संचालन-सम्बन्धमा-1.pdf” title=”PN-नेपाली-सेना-भूतपूर्व-सैनिक-सम्मेलन-२०७८-संचालन-सम्बन्धमा-1″]
टिप्पणीहरू