हराएको मूर्ति खोजिदिन आग्रह गर्दै दुई बस मानिस सिडिओ अफिसमा
ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति खोजिदन प्रदेशसभा सदस्यसहितको टोली आज जिल्ला प्रशासन कार्यालय ललितपुर पुगेको छ । प्रमुख जिल्ला अधिकारी मार्फत् गृहमन्त्रीसमक्ष हराएको मूर्ति खोजिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन र दिनेश महर्जनसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेको हो ।
गत माघ ८ गते सुनाकोठीस्थित बालकुमारीको मन्दिरबाट मूर्ति हराएको थियो । चोरी भएको मूर्तिको विषयमा सुराकी दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ दिइने घोषणा समेत गरिएको छ । मूर्ति हराएको १३ दिन बितिसक्दा समेत फेला नपरेपछि आज खोजीका लागि सिडिओलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रदेशसभा सदस्यहरुका साथै गुठीका सदस्यहरु नन्दबहादुर महर्जन, कृष्णहरि महर्जन, ललितपुर महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष बाबुराजा महर्जन, २६ का वडाध्यक्ष सुरेश महर्जनलगायत ठूलो संख्यामा स्थानीय उपस्थित थिए ।
उनीहरु दुई वटा बस चढेर जिल्ला प्रशासन कार्यालय ललितपुर पुगेका थिए ।
टिप्पणीहरू