घरमै गएर ३२ हजारलाई खोप लगाइने
मधेस प्रदेशमा गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमताका करिब ३२ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।
खोप अभियानअन्तर्गत प्रदेशको चार जिल्लामा घरमै गएर उनीहरुलाई खोप लगाइने भएको हो । मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरमा पुगेर खोप दिइने कार्यक्रमको आज उद्घाटन गरिएको हो ।
आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर यादवले कार्यक्रम उद्घाटन गरेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्दै आगामी चार महिनाभित्रमा चार जिल्लाका आठ हजारका दरले ३२ हजार जनालाई खोप लगाइसक्ने संस्थाले लक्ष्य लिएको छ ।
चार जिल्लालाई चार वटा मोबाइल गाडीको व्यवस्था गरी घुम्ती खोप सेवा सञ्चालन गरिएको हो ।
टिप्पणीहरू