धम्काउने दुर्गा प्रसाईंलाई कारवाही गरियोस् : पत्रकार महासंघ
नेपाल पत्रकार महासंघले पत्रकारलाई धम्की दिएको भन्दै झापास्थित बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई कारवाहीको माग गरेको छ ।
बिएण्डसी अस्पतालका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि गरिएको पत्रकार सम्मेलनमा ठाडो रुपमा पत्रकारमाथि धम्की दिइएको भन्दै महासंघले प्रसाईंलाई कारबाहीको माग गरेको हो ।
आज जारी विज्ञप्तिमा प्रसाईंले पत्रकारहरूलाई सार्वजिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईंले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए ।
महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा कुनै पनि सञ्चारमाध्यममा संप्रेषित समाचारप्रति चित्त नबुझे अथवा कुनै गुनासो रहे त्यसमाथि कानुनी उपचार खोज्न सकिने प्रावधान रहेको उल्लेख गरिएको छ ।
साथै, सार्वजनिक विज्ञप्तिमा कानुनी प्रावधान खोज्नुको सट्टा अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक भएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भएको बताइएको छ ।
महासंघले पत्रकारलाई पेशाप्रति हतोत्साही र त्रसित बनाउने गरी प्रसार्इंले धम्की दिएको बताउँदै उनलाई कानुनी कारवाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गरेको छ ।
टिप्पणीहरू