प्रदेश १ मा मन्त्रालय १३, मन्त्री १४
नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च पार्टीको संयुक्त सरकारले प्रदेश नम्बर १ मा थप आठ जना मन्त्री नियुक्त गरेको छ ।
आज मुख्यमन्त्री राजेन्द्रकुमार राईले ७ वटा मन्त्रालयलाई १३ वटा बनाएर थप ८ जना मन्त्री नियुक्त गरेका हुन् । अब प्रदेश १ मा एक मुख्यमन्त्री र एक राज्य मन्त्रीसहित मन्त्रीको संख्या १४ पुगेको छ ।
जनजाति समुदायका मुख्यमन्त्री रहेको प्रदेश १ को हालको मन्त्रिपरिषद्मा ७ जना जनजाति मन्त्री छन् । ४ जना खसआर्य, १ जना अल्पसंख्यक र १ जना मधेशी छन् । महिला मन्त्री २ जना मात्र छन् । तर दलित समुदायकोतर्फबाट कसैलाई पनि मन्त्री बनाइएको छैन ।
आज नियुक्त मन्त्रीहरुमा काँग्रेसबाट ओमप्रकाश सरावगीलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, प्रतापप्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार, शेखरचन्द्र थापालाई वन, वतावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मा दिइएको छ ।
माओवादीका झलकसिंह दर्लामीलाई कृषी र रामकुमार राईलाई सिँचाई, खानेपानी तथा ऊर्जामन्त्री बनाइएको छ । एकीकृत समाजवादीबाट राजन राई सामाजिक विकास, खिनु लङ्बा लिम्बु, संस्कृति तथा पर्यटन विकास र उपेन्द्र घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् ।
जनता समाजवादीका जयराम यादव समाजिक विकासबाट स्वास्थ्य मन्त्री बनाइएका छन् । काँग्रेसका भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्री बनाइएको छ ।
माओवादी केन्द्रका ईन्द्रबहादुर आङ्बोले पुरानै आर्थिक मामिला तथा योजना र काँग्रेसका केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय नै सम्हालेका छन् । संघीय लोकतान्त्रिक मञ्चकी विष्णुमाया तुम्बाहाम्फे पहिले कै राज्मन्त्री पदमा कायम छिन् ।
प्रदेश १ मा एकिकृत समाजवादीले मुख्यमन्त्रीसहित चार मन्त्रालय, काँग्रेसले ५, माओवादीले ३ र जनता समाजवादीले १ मन्त्रालयको जिम्मा पाएको छ । एक जना सांसद रहेको संघीय लोकतान्त्रिक मञ्चले एक राज्यमन्त्री भेट्टाएको छ ।
पहिले प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, आन्तरिक मामिला तथा कानुन, भूमि व्यवस्था कृषी तथा सहकारी, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक मामिला तथा योजना एवम् उद्योग वन, वतावरण तथा पर्यटनसहित जम्मा ७ वटा मात्रै मन्त्रालय थिए ।
टिप्पणीहरू