आज बालुवाटारमा ओलीले यस्तो शर्त राख्नुभयो
आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा पनि विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतकै कुरो दोहोर्याउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको भेटघाटमा ओलीले एमालेबाट अलग्गिएका माधवकुमार नेपालहरुको बर्खास्ती र सभामुख हटाउने एजेन्डा उठाउनु भएको हो ।
एमसीसीको सन्दर्भमा आफ्ना कुरा राख्दै ओलीले,‘तपाईंहरुको गठबन्धनकै कुरो मिलेको छैन । पहिले आफ्नो धारणा बनाउनुस्, अनि हामी भनौंला,’ भन्नुभएको बालुवाटारको उच्च स्रोतले बताएको छ । उहाँले विगतदेखि नै यहि कुरा राख्दै आउनुभएको छ ।
एमाले अध्यक्षले आज पनि एमसीसीबारे स्पष्ट कुरो नगरेको अर्को स्रोतले पनि बताएको छ । ओलीको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘पहिले आफ्नो (गठबन्धन) कुरो गर्नुस् । एमसीसी पास गर्नेमा अहिले हाम्रो समर्थन पनि छैन,बिरोध पनि छैन ।’
संसदमा जारी अवरोध खुलाउने बारेमा पनि उहाँले पुरानै धारणा दोहोर्याउनु भएको छ । उहाँले २३ भाइ सांसदलाई कारबाही गरे मात्र संसद अवरोध हट्ने जानकारी गराउनुभएको हो । उहाँ र उहाँको पार्टीले एमालेबाट छुट्टिएर गएका सांसदलाई गैर सांसद भन्दै आएको छ ।
टिप्पणीहरू