बल्ल बल्ल पोजिटिभ
कोरोना संक्रमण भएका ओली बा बाहिर ठिम ठिम घुम्न थालेपछि जनता आतंकित छन् । कोरोना लागेपछि घरैमा आइसोलेसनमा बस्नु पर्छ भन्ने सरकारको नियम नै छ । तर सरकारको नियम किन मान्ने ? उहाँ त प्रमुख प्रतिपक्षी नेता हो । सरकारले जे गर्छ त्यसको उल्टो गर्नु उहाँको धर्मै हो । सरकारले जे जे भन्छ त्यही त्यही मान्ने हो भने केको प्रतिपक्षी ? त्यो त सत्तापक्षी नै भयो नि ! वास्तवमा उहाँ एक प्रतिपक्षी नेताको भूमिका निर्वाह गर्न पनि कोरोना पोजिटिभ हुँदा बाहिर निस्केको हुनुपर्छ ।
एक प्रतिपक्षी नेताको हिसाबले उहाँ घरमा बसिरहनु उचित पनि होइन । उहाँको काम घरमा बस्ने होइन, सडकमा आउने हो । त्यसमाथि यो कोरोना पोजिटिभ आउनु उहाँको लागि एउटा सकारात्मक कुरा पनि हो । किनभने केपी ओलीको शरीरबाट कुनै पनि कुरा पोजिटिभ आएको शायद यही पहिलोपटक हुनुपर्छ । नभए उहाँ शारीरिक, मानसिक, वैचारिक सबै हिसाबले एक पूर्णतया नेगेटिभ व्यक्तित्व हुनुहुन्छ । कोरोना पनि उहाँको शरीरमा पोजिटिभ आएको धेरै पछि हो । नभए त उहाँ यति हदसम्मको नेगेटिभ पात्र हुनुहुन्छ कि कोरोनासम्म पनि उहाँकोमा पोजिटिभ आउन मान्दैन । बल्ल बल्ल आएको पोजिटिभ थियो यो । शायद त्यही खुशीयालीमा पो उहाँ बाहिर निस्कनुभएको हो कि ?
टिप्पणीहरू