एमसीसी फिर्ता लैजान वामदेवद्वारा अमेरिकालाई आग्रह
राष्ट्रियसभा सदस्य तथा ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गर्नुभएको छ ।
एमसीसी नेपालमा विवादित हुँदा जनमत विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति न्यून नभएको भन्दै उहाँले परियोजना फिर्ता लैजान आग्रह गर्नुभएको हो । विवादित परियोजनाले नेपालको हित नगर्ने गौतमको ठहर छ ।
आज विज्ञप्ति जारी गर्दै गौतमले भन्नुभएको छ, ‘एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ । नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’
नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा गौतमको जोड छ । उहाँले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको उहाँले बताउनुभएको छ ।
एमसीसी सम्झौता अनुमोदनलाई लिएर सत्तारूढ पाँचदलीय गठबन्धनमा विवाद आइरहेका बेला नेता गौतमको यस्तो धारणा आएको हो ।
टिप्पणीहरू