रुपन्देहीमा बेथरी र धकधई : एसपीभन्दा पावरफुल सई !
गृहमन्त्रीको नाम बेचेर रुपन्देहीमा दुई जना प्रहरीले तस्करीलाई बढवा दिइरहेको तथ्य भेटिएको छ । आफूलाई गृहमन्त्री बालकृष्ण खाँणनिकट भनेर बेथरी र धकधई प्रहरी चौकीका सईले जिल्लामा आतंक नै मच्चाउने गरेको एक जना जुनियर प्रहरी अधिकृतले खुलासा गरिदिएका हुन् ।
नाम नलेख्ने शर्तमा उनले भने, ‘विभागको कुरा बाहिर के भन्ने, तर गृहमन्त्रीको आफन्त रहेछन् बेथरीका सई साप । जिल्लामा यतिबेला एसपी सापभन्दा उहाँकै चल्छ, अरुले सामान्य गल्ती गरे पनि कारबाही भोग्नुपर्छ । उहाँहरुलाई जे गरे पनि छुट छ ।’
भैरहवा–लुम्बिनी सडक खण्डमा पर्ने बेथरी चौकीका इञ्चार्ज रहेका सई प्रकाश शाहीले आफू गृहमन्त्री खाँणको नातेदार भएको बताउँदै चिनी तस्करहरुबाट असुली लिने गरेको ती प्रहरीले बताए । सुदूरपश्चिम घर भएका शाहीले प्रहरीका माथिल्ला तहका हाकिमहरुसँग पनि नाता जोडेर संगठनमा आफ्नो प्रभाव विस्तार गरेको बताइन्छ ।
छोटो समयमा नै आर्थिक रुपले सम्पन्न भएका सई शाहीले भैरहवामा नै घर घडेरी जोडिसकेका छन् । उनले केही महिना पहिले एउटा महंगो चारपाँग्रे सवारी साधनसमेत किनेका थिए ।
सामान्य रुपमा प्रस्तुत हुने उनी चलाखीपूर्ण तरिकाले काम तमाम गर्ने प्रहरीमा गनिने उनका समकालीनहरु बताउँछन् । त्यहिँका एकजना प्रहरी जवानले भने, ‘दिनभर ड्यूटीमा हामी खटिने हो, हाम्रोमा फ्याक्ट्रीहरुले मासिक रासन खर्च पनि दिन्छन् । अलिअलि रासनका लागि पनि उठ्छ तर सबै सई सापले लान्छन्, हामी त चिल्लै हो ।’
अलि अगाडिसम्म बेथरी चौकीमा कार्यरत हवल्दार रामसकल यादवले तस्करसँग असुलीको जिम्मा लिएका थिए । केही मिडियाले सो विषय उठाएपछि यादवलाई जिल्ला तानेर कारवाहीसमेत गरिएको थियो । तर, असुली कार्य भने अझै रोकिएको छैन ।
यादव जिल्ला तानिएपछि बेथरीमा असुलीको कामलाई सई शाहीले अघि बढाइरहेको आरोप लागेको छ । उनले आफू मातहतका सबै युनिटलाई तस्करसँग साँठगाँठ मिलाउन भन्ने गरेको बताइन्छ । माथिबाट हुने सबै प्रक्रिया आफूले मिलाउने भन्दै उनले मासिकरुपमा असुली गर्ने गरेको प्रहरीहरु नै बताउँछन् । बेथरीको सडक ड्युटीमा रहेका प्रहरीलाई ‘सीमा क्षेत्रबाट चोरी तस्करी भइरहेको छ । यी सामान चेक जाँज गर्नु हुन्न ?’ भनी प्रश्न गर्दा उनीहरु ‘माथिको आदेश छ । हामीले रोक्न मिल्दैन,’ भनेर उम्कने गरेका छन् ।
यता, धकधईमा सई दिलबहादुर श्रेष्ठको कमाण्डमा छ । श्रेष्ठले आफू र मातहतका प्रहरी चौकीलाई तस्करी गराउन निर्देशन नै गरेको प्रहरी वृत्तमा चर्चा हुने गर्छ । उनले पनि ‘माथिको सबै निकायलाई मिलाउने,’ भन्दै पिप्रहवा चौकी इञ्चार्ज र मैनहिया चौकीबाट दैनिक रुपममै हिसाब गरेर पैसा बुझ्ने गरेको बताइन्छ ।
श्रेष्ठको यस्तो च्यानल छ, तस्करी रोक्ने निकाय जोसुकै आएपनि तुरुन्तै तस्करका बीच सर्कुलेसन हुन्छ र तस्करले बाटो परिवर्तन गर्छन्, भनिन्छ । प्रत्येक पटकको हिसाबले धकधई इलाका प्रहरी कार्यालयमा पैसा बुझाउने हुनाले दैनिक ७ पटकसम्म सामान ओसारपसार गर्ने गरेको यसमा संलग्नहरु नै हाकाहाकी बताउँछन् । राति गाडीबाट र दिउँसो मोटरसाइकल, रिक्सा र साइकलमा चोरी तस्करी सई श्रेष्ठकै कमाण्डमा हुने गरेको उनीहरुको भनाइ छ । श्रेष्ठ एक महिना अगाडि अन्यत्र सरुवा भएका थिए तर उनले तस्करसँग सेटिङ मिलाएर आफ्नो सरुवासमेत रोकाउन सफल भएको अरु प्रहरीको आरोप छ ।
हुनतः भारतसँग सीमा जोडिएका रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुने गरेको छ । अहिले सबैभन्दा बढी तस्करी हुने नाकाको रुपमा सेमलपानी, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, कालिदह, भगवानपुर हुन् । यहाँबाट मोबाइल, कपडा र हार्डवेयर, चिनी, मोटरसाइकल पार्ट्स बढी मात्रामा तस्करी हुने गरेको छ ।
छोटु, महावीर, अफरोज, प्रेम, शैलेश, लल्लु, शैलेन्द्र, वीरेन्द्र, मोविन, मास्टर, सुवास, अमरजित, अब्दुल, सीताराम, प्रकाश नामका तस्करहरुले प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएको जानकारहरु दाबी गर्छन् ।
जिल्लामा एसपी मनोज केसीले चोरी तस्करी नियन्त्रणका लागि शून्य सहनशीलता अभियान चलाएका छन् । उनी बेला–बेला आफैँ पनि फिल्डमा खटिने गरेका छन् । तर, जिल्लाको पूर्वीकमाण्ड सम्हालेका धकधई इञ्चार्ज श्रेष्ठ र पश्चिम क्षेत्रमा रहेका बेथरी इञ्चार्ज शाही एसपी केसी आफ्नो क्षेत्रमा आउने सूचना पाउने बितिक्कै ‘एसपी साप आउँदैछन् सर्तक रहनु’ भनेर चारैतिर सन्देश प्रवाह गर्छन् ।
जिल्लाका हाकिमको छड्केमा सबै क्षेत्र शान्त हुन्छ, तर उनीहरु फील्डबाट भैरहवा फर्किन नपाउँदै तस्करहरुको मोटरसाइकल र साइकलको ताँती लाग्ने गरेको प्रत्यदर्शीहरु बताउँछन् । ‘चोरी, तस्करी नियन्त्रण अभियानमा हाकिम सापको योजनामा सई सापहरु तगारो बनेको देखिन्छ’, एक जना प्रहरी जवानले भने ।
त्यसो त, यी दुई सईलाई एसपी केसीले कारवाहीसमेत गर्न खाजेका थिए । तर केन्द्रको पावर भिडाएर उनीहरु आफ्नो रबाफ फैलाउन सफल हुन् । दुई जना जुनियर अधिकृत कै कारण रुपन्देहीमा चोरी, तस्करी नियन्त्रणमा प्रहरीले सफलता हासिल गर्न नसकेको र यसले सिङ्गै प्रहरी संगठन बदनाम भइरहेको सडकमा खटिएका अधिकांश तल्लो दर्जाका प्रहरी कर्मचारीको गुनासो छ ।
टिप्पणीहरू