कमल थापाले राप्रपा छाडे
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा गरेका छन् । हिजो काठमाडौंमा आफूपक्षीय नेताहरुको छुट्टै भेला बोलाएर तयारी अवस्थामा रहन निर्देशन दिएका थापाले आज गृहजिल्ला मकवानपुरबाट राप्रपा त्यागेको घोषणा गरेका हुन् ।
हेटौंडाको प्रकाश होटलमा झण्डै डेढ घण्टा कार्यकर्तासँग छलफल गरेका थापाले त्यहीबाट राप्रपामा नरहने उद्घोष गरेका हुन् । थापा हिजो सुकेधारास्थित एक पार्टी प्यालेसमा आफू निकट नेताहरुसँग छलफल गरेर सिधै हेटौंडातर्फ लागेका थिए ।
राप्रपाको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका थापा आफ्नै कार्यकर्ता राजेन्द्र लिङ्देनबाट पराजित भएका थिए । आफ्नो पराजयमा पूर्वराजाको हात रहेको थापाले आरोप लगाउँदै आएका छन् । निर्मल निवास (पूर्वराजा) ले षड्यन्त्रपूर्ण ढंगले आफूलाई हराएको दाबी गरिरहेका थापाले त्यसबारे पार्टीमा छानबिन हुनुपर्ने माग राख्दै आएका छन् ।
त्यसबारे थापाले लिङ्देनलाई दुई पटक पत्रसमेत लेखिसकेका छन् । तर, लिङदेन छानबिनका लागि तयार नभएपछि थापाले पार्टी छाड्ने घोषणा गरेका हुन् ।

टिप्पणीहरू