स्वदेशी र विदेशीको यति धेरै सरगर्मी
आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक हिजो राति स्थगित हुनुअघि नेपालमा यसअघि कहिल्यै नदेखिएको स्वदेशी र बिदेशी भेटघाट छरपस्ट भएको छ । सभामुखको निर्देशनमा संसद सचिवालयले आजको बैठक फागुन २ गतेसम्मको लागि धकेले पनि सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबुल गर्ने तयारीसङ्गै त्यसलाई आफ्नो अनुकूलतामा ढाल्न रस्साकस्सी चलेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको बाध्यता र सत्ता गठबन्धनको तानातानीका वीच हिजो अमेरिकीसहित केही देशका राजदूतले एमाले अध्यक्ष केपी ओली,माओवादी अध्यक्ष प्रचण्ड,एमसिसी अघि बढाउने तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितलाई भेटेका थिए । यो दौडमा भर्खरै नेपाली काङ्ग्रेस सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका डा.शेखर कोइरालासमेत देखिए । आजको संसद बैठक र एमसीसी सम्झौतालाई लिएर हिजो दिनभर राजधानीका गौंडा गौंडामा नेताहरुको कोठे बैठक बसेको थियो ।
हिजो सबेरै खुमलटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँग स्विट्जरल्याण्डकी राजदूतले भेटेर सोधखोज शुरु भएको हो । राजदूत एलिजाबेथ भोन क्याप्लरले बिहान ८ बजेबाट झण्डै आधा घण्टा भेट गरेको अध्यक्ष दाहालको सचिवालयले पुष्टि गरेको छ । भेटको विस्तृत विवरण नखुलाइए पनि उहाँहरुबीच संसदमा प्रस्तुत हुन लागेको एमसीसी सम्झौतावारे मुख सुघ्ने काम भएको माओवादी स्रोतले जनाएको छ ।
त्यसपछि काँग्रेसको युवा समूह सोही विषयमा छलफल गर्न नक्सालमा भेला भएको थियो । काँग्रेस महामन्त्री तथा सांसद गगन थापाको सचिवालय नक्सालमा भएको भेलामा नेता शेखर कोइरालासमेत थिए । कोइराला र थापासहितको उक्त बैठक सहमहामन्त्री बद्रि पाण्डे, जीवन परियार,केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटीसहित भएर बिहान साढे नौ बजेदेखि झण्डै डेढ घण्टा चलेको थियो ।
“त्यसअघि बालकोटमा अमेरिकी राजदूत र्याण्डी बेरी पुगेका थिए । राजदूतले अध्यक्ष केपी शर्मा ओली र नेता तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग संयुक्त भेट गरेको ओलीका निजी सचिव राजेश बज्राचार्यले पुष्टि गरे ।”
बिहान नक्सालमा आफ्नो समूहका नेताहरुसँग छलफलमा जुटेका काँग्रेस नेता शेखर विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अपरान्ह बालकोट पुगेका थिए । अपरान्ह साढे ४ बजे बालकोट पुगेका कोइराला राति ९ बजे त्यहाँबाट निस्केको बताइन्छ । दुई पक्षबीच समसामयिक राजनीतिको अलावा अहिलको हट केक भएको एमसीसी सम्झौता अनुमोदनबारे विस्तृत छलफल भएको कोइरालाका पिए दिनेशले बताए ।
त्यसअघि बालकोटमा अमेरिकी राजदूत र्याण्डी बेरी पुगेका थिए । राजदूतले अध्यक्ष केपी शर्मा ओली र नेता तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग संयुक्त भेट गरेको ओलीका निजी सचिव राजेश बज्राचार्यले पुष्टि गरे । उहाँहरुबीच बिहान साढे १० बजेदेखि झण्डै तीन घण्टा बातचित भएको एमाले स्रोतले बताएको छ । राजदूतसँगको भेटघाटको मुख्य विषय एमसीसी सम्झौताको अनुमोदन थियो ।
यता संसद सचिवालयमा पनि हिजो राजदूतसँग भेटघाट भएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति तथा एमाले सांसद पवित्रा निरौला (खरेल) र नेपालका लागि इजरायलका राजदूत हनान गोडरबीच दिउँसो लञ्च टाइमपछि झण्डै एक घण्टा भेट भएको हो । उहाँहरुबीच भएको कुराकानीको विवरण खुलाइएको छैन ।
त्यसैगरी सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेजबीच हिजो अपरान्ह चार बजे झण्डै डेढ घण्टा कुराकानी भएको छ ।
सोही समयमा ओली निवास बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । कार्की निस्केपछि काँग्रेस नेता शेखर कोइराला त्यहाँ पुगेका थिए ।
टिप्पणीहरू