चुनावको मिति तोकेकोमा देउवालाई माधवको धन्यवाद
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आगामी बैशाख ३० गते चुनावको मिति घोषणा गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । समाजवादीको केन्द्रीय सचिवालय बैठकले हिजो चुनावको स्वागत गर्दै सरकारलाई धन्यवाद दिने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय मीनभवनमा बसेको सचिवालय बैठकले चुनावको मिति घोषणा गर्न सरकारलाई प्रस्ताव गर्ने र गठबन्धनमा रहेका दलहरुलाई पनि धन्यवाद दिने निर्णय गरेको छ । ‘नेपाल सरकारले आगामी बैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तह निर्वाचनको मिति घोषणाको सहर्ष स्वीकार गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ’, बैठकका निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ।
एकीकृत समाजवादीले चुनाव केन्द्रित हुन पार्टीपंक्तिलाई आग्रह पनि गरेको छ । ‘लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा हाम्रा लागि गौरवको कुरा हो । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ’, महासचिव डा. वेदुराम भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।’
बैठकले एकताबद्ध भएर चुनाव लड्न गठबन्धनका दलहरुलाई आह्वानसमेत गरेको छ ।
टिप्पणीहरू