एमसिसीनिम्ति बिहानैदेखि फेरि दौडधुप शुरु
नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न खुमलटार पुग्नुभएको छ । उहाँ सवा ९ बजेको हाराहारीमा त्यहाँ पुग्नुभएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गराउने विषयमा नयाँ गाँठो पर्न थालेपछि नेताहरुको भेटघाट बाक्लिएको छ । सोही क्रममा नेता कोइराला खुमलटार पुगेको बताइन्छ ।
भेटमा कोइरालासँगै दक्षिणी पूर्व अघोषित दूत अमरेशकुमार सिंह र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि रहेको खुमलटार स्रोतले जानकारी गराएको छ ।
यसअघि हिजो पनि राजधानीमा विदेशी राजदूतहरुले राजनीतिक दलका नेताहरुलाई भेटेर अप्रत्यक्ष चासो देखाएका छन् । उता बालुवाटारमा काँग्रेस नेताहरुको निकै लामो छलफल भएको छ ।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको छलफलमा काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का,महामन्त्री बिश्वप्रकाश शर्मा,उपमहामन्त्री फर्मुल्लाह मन्सुरसहित ९ जना पदाधिकारी सामेल थिए । छलफलको मुख्य विषय एमसीसी अनुमोदन र गठबन्धन टिकाउका उपाय खोज्नु रहेको बताइन्छ ।
काँग्रेसको पदाधिकारी बैठकलगत्तै प्रधानमन्त्रीसँग माओवादी अध्यक्ष प्रचण्डले करिब २० मीनेट भेट गर्नुभएको थियो । प्रचण्ड साँझ पौने ६ बजे बालुवाटार छिरेर ६ बजेको हाराहारीमा बाहिरिनुभएको थियो ।
प्रचण्ड निस्केपछि प्रधानमन्त्रीसँग भेट गर्न काँग्रेस नेता कोइराला त्यहाँ पुग्नुभयो भने त्यसअघि खुमलटारमा प्रचण्डसँग काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि एमसीसीको बारेमा छलफल गर्नुभएको बुझिएको छ ।
हिजै दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग इजरायली राजदूतले भेट गर्नुभएको छ । उनै राजदूतले अघिल्लो दिन एमाले सांसद तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलसँग झण्डै एक घण्टा वार्तालाप गरेका हुन् । अमेरिकी सुरक्षा घेराभित्र रहेका देशका राजदूतले यसबीचमा गरेका बाक्लो भेटघाटलाई पनि अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू