प्रधानमन्त्री रोजगारका लागि मर्स्याङदीमा ६० योजना
लमजुङको मर्स्याङदी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० वटा योजना छनोट गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले ९ वटै वडामा गरी ६० वटा योजना छनोट गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढंगबाट समयमा सम्पन्न गर्न वडागत रुपमा योजना छनोट शुरु गरिएको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताए ।
छनोट भएका योजनामा गोरेटोबाटो मर्मत तथा निर्माण, सिँढी निर्माण, मोटरबाटो मर्मत तथा सोलिङ, नाली, आन्तरिक बाटो, सिँचाइ र कुलो निर्माण, खेलमैदान, तटबन्धन, सामुदायिक भवन साझेदारीलगायत छन् ।
रोजगार संयोजकका अनुसार हाल अधिकांश वडामा योजनाका काम चलिरहेको छ भने तीन वटा योजना सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले २ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
टिप्पणीहरू