बालुवाटारमा राजदूत नियुक्तिको सल्लाह
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्नैपर्ने बाध्यता बढ्दै गएपछि प्रमुख दलका नेताहरु छलफल र भेटघाटमा व्यस्त भएका छन् । केही बेरअघि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच भेटघाट भएको छ ।
आजको भेटघाटमा मूलतः सत्ता गठबन्धनलाई कायम राख्ने प्रतिवध्दता दोहोर्याइएको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो, ‘सत्ता गठबन्धन कायम राखेर अघि बढ्ने हो ।’
यसैगरी निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा बाँकी नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेमा नेताहरुबीच छलफल भएको थियो । विशेषगरी छिमेकी चीनलगायतका मुलुकमा रिक्त राजदूत नियुक्तिको बारेमा पनि कुरो उठेको हो । राजदूतलगायत नियुक्तिको प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डले राख्नुभएको थियो ।
छलफलको अन्तमा प्रधानमन्त्रीले एमसीसी जसरी पनि पास गर्ने अडान दोहोर्याउनुभएको छ । सत्तारुढ काँग्रेसभित्रै एमसीसी अनुमोदनको सन्दर्भलाई आगामी स्थानीय र संघीय निर्वाचनपछि धकेल्न प्रयास गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा सभापति तथा प्रधानमन्त्री देउवा भने जसरी पनि फागुनभित्र अनुमोदन गर्नुपर्ने अडानमा हुनुहुन्छ । बल अब सभामुखको कोर्टमा छ । एमसिसी पास गर्ने बैठकमा माओवादी र समाजवादी अनुपस्थित हुने सम्भावना देखिदैछ ।
टिप्पणीहरू