प्रचण्ड मधेश जाने, शहीद परिवारलाई १ लाख बाँड्ने
जनयुद्ध दिवसको अवसर पारेर माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेश प्रदेश जाने कार्यक्रम तय गरिएको छ । फागुन १ गते आयोजना गर्न लागिएको मधेश प्रदेशको पहिलो जनयुद्ध दिवसको अवसरमा प्रचण्ड त्यता जान लाग्नुभएको बताइएको छ ।
सहीद परिवारलाई प्रदेश सरकारद्वारा छुट्याइएको रकम हस्तान्तरण गर्न अध्यक्ष दाहाल मधेश आउन लागेको मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी किशोरीशरण यादवले बताए । मधेश प्रदेश नामाकरण भएपछि पहिलोपटक जनयुद्ध दिवस मनाउन लागिएको हो । सो अवसर पारेर शहीद परिवारका आफन्तजनलाई एक लाख रुपैयाँको दरले रकम हस्तान्तरण गरिने जानकारी यादवले दिएका छन् ।
मधेसी सहीद प्रतिष्ठान्मार्फत तीन चरणमा प्रत्येक परिवारलाई तीन/तीन लाख रुपैयाँ दिने तयारी गरिएको छ । तर, तत्काल एक लाखको मात्र व्यवस्था भएको यादवको भनाइ छ ।
मधेस आन्दोलन र जनयुद्धका सम्पूर्ण शहीद परिवारलाई आर्थिक सहयोग गर्न लागिएको हो । यसअघि, गत माघ ५ गते बलिदानी दिवसका दिन पनि सरकारले मधेस आन्दोलनका शहीद परिवारलाई तीन/तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
टिप्पणीहरू