आज पनि मृत्युदर उस्तै, संक्रमणदर घट्दो

आज पनि मृत्युदर उस्तै, संक्रमणदर घट्दो

माघ महिनाको पहिलो सातामा कोरोनाको तेस्रो लहर देखिनेबित्तिकै उच्च बिन्दुमा पुगेको कोरोना संक्रमितको संख्या त्यसपछिका सातामा ओरालो लाग्दै आएको छ । पछिल्ला केही दिनमा संक्रमितको संख्या घटे पनि मृत्युदर भने उस्तै छ । भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा देखिएका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा तीन सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा दुई सय ३५ जना संक्रमित थपिएका हुन् ।

भक्तपुरमा ३० र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा मुलुकभर एक हजार तीन सय ६९ जना संक्रमित भेटिएका छन् । ११ हजार आठ सय ८० जनामा परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।

यो अवधिमा दुई हजार दुई सय ३८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९५ दशमलव ८ प्रतिशत रहेको छ । मुलुकभर अझै २९ हजार चार जना सक्रिय संक्रमित छन् ।

आज १२ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार आठ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये दुई सय ९२ जना युवायुवती छन् भने ४० जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका २३ जना छन् र ७७ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या सात हजार एक सय ७० पुगेको छ । भक्तपुरमा एक हजार चार सय ६४ र ललितपुरमा तीन हजार चार सय ३१ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू