कसको नाडी कसिलो, कसको कमजोर

कसको नाडी कसिलो, कसको कमजोर

नेताहरू एउटाले अर्काको नाडी छाम्दैछन् । एमसिसी, स्थानीय तह निर्वाचन, चुनावी गठबन्धनजस्ता विषय तातो बनेर आएपछि ओलीले देउवाको, देउवाले प्रचण्डको, प्रचण्डले माधवको नाडी छामिरहेका हुन् ।

अस्ति सोमबार सरकारद्वारा तय गरिएको स्थानीय तह निर्वाचनको मिति आफ्नो दबाबका कारण सम्भव भएको भन्ने केपी ओलीको प्रचारबाजी त्यही दिनबाट शुरु भएको छ ।

एमसिसीलाई थामथुम पार्न पार्टीमा सल्लाह नगरी प्रचण्डले लेख्नुभएको चिठीको भेद पनि त्यही दिन बालुवाटारबाट खुलेको छ । त्यसबाट आक्रोशित प्रचण्डले अब सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउनुहोला वा एमसिसीको मामिलामा कसरी ‘फेस सेभिङ’ गर्नुहोला, प्रतीक्षाको विषय बनेको छ ।

राष्ट्रिय राजनीतिमा यस्ता सन्धि–सम्झौताका कारण भएका क्षति नेताहरूले भुल्नुहुँदैन । महाकाली सन्धिले गर्दा एमाले कति पछि प¥यो ? जगजाहेर छ । नत्र, ०५६ कै निर्वाचनमा एमालेले सुविधाजनक बहुमतका साथ सरकार चलाउने रहेछ । त्यसले मुलुकको राजनीतिक स्थिरता पनि सुनिश्चित गथ्र्यो । अहिले पनि एमसिसीको बहानामा ‘खानुपरेको छ, घाँटीमा किलकिलो पनि राख्नु परेको छ’ भनेजस्तो स्थिति देखिन्छ ।

उता, प्रचण्डले देउवासँग मिलेर एमसिसीलाई लेख्नुभएको चिठी चिठी लामो समय लुकाइएको माओवादी नेताहरूले बताएका छन् । त्यसबारे छलफल गर्न बोलाइएको केन्द्रीय कमिटी बैठक विभिन्न बहानामा सारिएको छ ।

त्यस्तै, अध्यक्ष र केन्द्रीय कमिटी चयन गरे पनि पदाधिकारी चयन गर्न नसकेको माओवादी केन्द्रले तेस्रो व्यक्तिलाई महासचिवका रूपमा अगाडि सार्ने सम्भावना बलियो बनेको छ ।

भनिन्छ, वर्षमान पुन र जनार्दन शर्मालाई अरु जिम्मेवारी दिएर देव गुरुङलाई महासचिव बनाइँदैछ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, ओनसरी घर्तिहरूको नाम प्रस्तावित हुने भएको छ ।

अर्कातिर, महन्थ ठाकुरसँग विद्रोहको तयारीमा लागेको लोसपाको एउटा जत्था एकीकृत समाजवादीमा प्रवेश गर्ने भएको छ । सँगसँगै मकवानपुरमा एमालेबाट विद्रोह गरेर आउने एउटा ठूलो समूहलाई व्यवस्थापन गर्नेबारे अध्यक्ष माधवकुमार नेपाल र स्वास्थ्य मन्त्री विरोध खतिवडाबीच हालै सल्लाह भएको छ ।

टिप्पणीहरू