गठबन्धन छाडेर भए पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा काँग्रेस

गठबन्धन छाडेर भए पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा काँग्रेस

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्नुपर्ने विषयमा नेपाली काँग्रेसका नेताहरु एकमत देखिएका छन् । आज बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि उनीहरु एक भएका हुन् ।

उनीहरुले गठबन्धनको मतलब नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा काँग्रेस अघि बढ्ने निर्णय गरेका छन् । बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा. रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले जानकारी दिएका छन् ।

कोइरालाले भने, ‘एमसीसी विद्युत र सडकका लागि हो । यो कुरा हामीले जनमानसमा भन्नुपर्छ ।’ डा. महतले त्यसबारे लामो धारणा राखेको बताउँदै उहाँले भन्नुभयो, ‘कि, यो सहयोग हामीले लिनुपर्छ । कि लिन्नँ भन्न सक्नुपर्छ ।’

त्यसपछि सभापति तथा प्रधानमन्त्रीले आफूलाई त्यसबारे संक्षेपमा लेखेर दिन आग्रह गर्दै भन्नुभयो, ‘म साथीहरूसँग कुरा गर्छु ।’ बैठकमा डा. कोइरालाले गठबन्धनसहित काँग्रेस निर्वाचनमा जान नहुने धारणासमेत राखेको बताइन्छ ।

टिप्पणीहरू