चुनाव त तोकियो,आचारसंहिता लाग्छ चाहिँ कहिले ?
स्थानीय तहको चुनाव ०७९ साल बैशाख ३० गतेका लागि तोकिएको छ । निर्वाचन कानुनअनुसार चुनावको एक महिना अगाडिसम्म आचार संहिता लाग्दैन । तर,चुनाव घोषणालगत्तै निर्वाचन आयोगले आचार संहिता लगाउन सक्ने आशंकामा रहेको सरकार र सत्ता गठबन्धनका दलहरुलाई मनाउन आयोगले ठूलै पापड बेल्नुपरेको छ ।
बताइएअनुसार त्यहि आशंकाले चुनावको मिति तोक्न आनाकानी गरेको गठबन्धन सरकारलाई मनाउन निर्वाचन आयोगले ठूलो कसरत गर्नुपरेको हो । खासमा पछिल्लो चुनावमा लगातार १० महिना आचारसंहिता लागेपछि प्रधानमन्त्री र गठबन्धनका शीर्ष नेताहरु सशँकित भएका रहेछन् ।
गत ०७४ सालको चुनावमा बैशाख ३१ का लागि लागेको आचारसंहिता पुस ५ सम्म पुगेको थियो । त्यतिबेला बैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो । छोटो अवधिमा चुनावको मिति तोकिएकाले चैतमा लगाइएको आचार संहिता असोज २ सम्मै पुगेको हो । लगत्तै संघ र प्रदेशको चुनाव लागिहाल्यो । त्यसपछि असोज २ हुँदै आचारसंहिता पुस ५ सम्म पुगेको थियो ।
‘उम्मेदवारी दिनुभन्दा अगाडि आचार संहिता लाग्दैन । उम्मेदवार हुने हो भन्ने थाहै नभई कसरी लाग्छ ?’,
यता, निर्वाचन आयोगमा केपी ओलीले नियुक्त गरेका मान्छे भएकाले चुनाव घोषणापछि आचारसंहिता लगाइदिएर काम गर्न अप्ठेरो पार्ने पो हो कि भन्ने अर्को डर पनि थियो । आयोगका पदाधिकारीहरुले ‘त्यस्तो हुँदैन हजुर !’ भनेर सम्झाएपछि बल्ल प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त हुनुभएको बताइन्छ ।
आयोगका अनुसार चुनावको मिति घोषणा हुनेबित्तिक्कै आचार संहिता लाग्दैन । निर्वाचनको मिति घोषणा गरेपछि पनि सरकारलाई महत्वपूर्ण निर्णय र नियुक्ति गर्न कुनै बारबन्देज हुँदैन । ‘उम्मेदवारी दिनुभन्दा अगाडि आचार संहिता लाग्दैन । उम्मेदवार हुने हो भन्ने थाहै नभई कसरी लाग्छ ?’, आयोगका एक पदाधिकारीले भने, ‘सरकार र कतिपय नेताज्यूहरुलाई यस्तो भ्रम परेको छ । हामीले होइन, त्यस्तो हुँदैन भनेपछि कुरा बुझ्नुभयो ।’
चुनावको सन्दर्भमा मिति घोषणा भएपछि दुई चरणमा चुनावको कार्यतालिका लागू हुन्छ । पहिलो चरणलाई निर्वाचन अवधि भनिन्छ । मतदाता नामावली संकलन, दल दर्ता, बजेट तथा सुरक्षा व्यवस्थापनलगायत आन्तरिक तयारीका काम निर्वाचन अवधिमा गर्ने गरिन्छ । उम्मेद्वारी घोषणा भएर निर्वाचन सम्पन्न नहुँदासम्मको अवधिलाई निर्वाचन कार्यक्रम भनिएको हुन्छ । चुनाव हुन एक महिना बाँकी रहँदा मात्र निर्वाचन कार्यक्रम ल्याइन्छ । आचारसंहिता लाग्ने त्यहि अवधिमा हो ।
त्यसैले बैशाख ३० को चुनावका लागि छिटोमा चैत २५ गते देखि आचारसंहिता लागू हुने अनुमान गरिएको छ ।
टिप्पणीहरू