मकवानपुरः गाँजाको खेती, गाँजाकै राजनीति !

मकवानपुरः गाँजाको खेती, गाँजाकै राजनीति !

मकवानपुरबाट पटक पटक प्रतिनिसभामा निर्वाचित हुनु भएका सांसद विरोध खतिवडा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्छ । पश्चिम मकवानपुरका गाउँहरु उहाँको निर्वाचन क्षेत्र हो । त्यहाँ गाँजाको व्यवसायिक खेती हुने गर्छ । गरिब, विपन्न समुदायको बसोबास रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजाको बढी खेती हुने भएकाले यसलाई अर्थसँग जोडेर लैजानुपर्छ भन्दै मन्त्री खतिवडा निरन्तर गाँजाको वैधानिकताबारे वकालत गरिरहनु भएको छ ।

औषधीय गुण भएको लागूऔषध गाँजा खेतीलाई कानून निर्माण गरी वैधानिकता दिनुपर्नेमा उहाँको जोड र तयारी छ । यद्यपि, संसद अवरुद्ध छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी अस्तित्वमा रहँदा ५० जनाभन्दा बढी सांसदले हस्ताक्षर गरी गाँजाको वैधानिकताका लागि संसदमा छलफलको मागसमेत गरेका थिए ।

त्यसो त मकवानपुरका विरोध खतिवडा मात्र होइनन्, पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भइसक्नुभएका केशव स्थापित, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलगायतले केन्द्रीय रुपमा गाँजालाई वैधानिकता दिनेबारे जोडबल गर्दै आएका छन् । स्थानीय स्तरमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, सांसद ओमबहादुर ग्लान (प्रदीप), गाँजाको व्यवसायिक खेती हुने मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानलगायत राजनीतिक पार्टीका नेताहरु, वडाध्यक्षहरु गाँजाको वैधानिकताको पक्षमा छन् ।

सुरु सुरुमा सडक विकास नभएका कारण अन्य खेतीबालीले खान नपुग्ने भएकाले गाँजाखेती गर्नुपर्ने बाध्यता रहेको बताउने गरेका राजनीतिक दलका नेताहरुको अहिले स्वर बदलिएको छ–गाँजालाई संयुक्त राष्ट्र संघले त फुकुवा गर्यो भने नेपालले किन नगर्ने ? केही दिन अघि कैलाश गाउँपालिकाका एकजना वडाध्यक्षले गाँजा फँडानीका लागि गाउँमा गएका प्रहरीबारे चिन्ता व्यक्त गर्नुभयो । नाम उल्लेख गर्न नचाहने ती वडाध्यक्षको चिन्ता थियो, ‘चुनाव नजिकै आइरहेको बेला गाँजा फँडानी रोक्न सकिएन भने ठूलो असर पर्छ ।’

उल्लेखित घटनाले गाँजा र राजनीतिबीचको घनिष्टता पुष्टि गर्छ । एक हिसाबले मकवानपुरमा गाँजाको पक्षमा वकालत गर्ने नेताहरुले राजनीतिक रुपमा पनि सफलता पाउँछन् भन्ने अनुमान सहज गर्न सकिन्छ । गत आर्थिक वर्षमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको दबाबपछि गाउँ गाउँमा प्रहरी परिचालन गरिएको र गाँजा फँडानी गर्न लगाइएको घटनाबारे राजनीतिक वृत्तमा चर्चा छ । किनकी, गाँजाका पक्षधर स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडा र मुख्यमन्त्री पौडेलबीचको टकरावका कारण गाँजा फँडानीका लागि पौडेलले जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुखलाई समेत दबाब सिर्जना गराएको प्रहरी स्रोत बताउँछ । एक औपचारिक कार्यक्रममा तत्कालीन मुख्यमन्त्री पौडेलले अवैधानिक खेती गर्न जनतालाई उक्साएर केही नेताहरुले अवैधानिक कामलाई आश्रय दिएको खुलेरै आरोप लगाउनु भएको थियो । यद्यपि, उहाँले मन्त्री खतिवडाको नाम भने लिनु भएको थिएन ।

प्रहरी सँधै दबाबमा

तत्कालीन शसस्त्र द्वन्द्वकालदेखि नै गाँजा मकवानपुर प्रहरीको टाउको दुखाईको विषय बनेको छ । हरेक वर्ष गाँजा फँडानीका लागि प्रहरी गाउँ जान्छन् । तर, सन्तोषजनक उपलब्धी हासिल हुन सक्दैन । हरेक गाउँमा पुगेर प्रहरीले गाँजा फँडानी गर्न भ्याउँदैन । केही ठाउँका मात्र फँडानी गर्दा प्रहरीलाई ‘सेटिङ’ को बात लाग्ने गर्छ । केही वर्षअघिसम्म प्रहरीले स्थानीय गाउँले ‘दलाल’ मार्फत् गाँजा नफाँड्ने ‘सेटिङ’ नमिलाएका होइनन् । तर, पछिल्ला वर्षमा ‘सेटिङ’ भत्केको गाँजा उत्पादनमा लागेका किसानहरुको भनाई छ । ‘अहिले प्रहरीले फँडानी गर्न बाँकी राखेमा हामीहरुको अहोभाग्य हुनेछ’, एक गाँजा किसानले भने । विगतमा जस्तो पैसा संकलन गरेर प्रहरीलाई बुझाउने काम भने रोकिएको उनले जानकारी गराए ।


यता प्रहरी चाहिँ पर्याप्त बजेट नहुँदा खाना, खाजा र हँसिया किन्न समेत रकम नभएको बताउँछ । तर पनि केन्द्रीय निकायसँग समन्वय गरी हरेक वर्ष प्रहरीले गाँजा फँडानी गरिरहेको छ । पछिल्ला केही वर्षयता निरन्तर कोभिड १९ का कारण प्रहरीले पूर्ण जनशक्ति गाउँमा पठाउन नसक्नु, गाँजाको वैधानिकताबारे संसद र सरकार अनि केन्द्रीय तहमा बहस हुनुलगायत कारण गाँजा उत्पादनमा गरिएको कडाई अलि खुकुलो भएको अनुमान गरिएको छ । जसका कारण मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकाका अधिकाँश गाउँमा यो वर्ष पनि गाँजाखेती सफल भएर भित्र्याउने कार्य भइरहेको छ । प्रहरी गाउँमा गाँजा फँडानीका लागि जाँदा गाउँले, राजनीतिक पार्टी र जनप्रतिनिधिहरु कसैले पनि सहयोग गर्दैनन् । कतिपय अवस्थामा प्रहरी र गाउँलेबीच द्वन्द्व हुँदा तनावको अवस्था पनि सिर्जना हुने गर्दछ ।

६ महिनामा १ सय पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा एक सय जनालाई लागूऔषध मुद्दामा पक्राउ गरेको जनाएको छ । मकवानपुरका प्रहरी नायब उपरिक्षक जयइश्वर रिमालका अनुसार साउनदेखि पुस सम्मको अवधिमा लागूऔषधका कारोबार र ओसारपसारमा संलग्न एक सय जनालाई पक्राउ गरिएको बताउनुभयो । ती सबै गाँजाको कारोबारमा मात्रै होइन चरेश र भारतबाट आयात हुने लागूऔषधका ट्याब्लेट ओसारपसारमा समेत संलग्न देखिन्छन् ।

पक्राउ पर्नेमा ६ जना भारतीय समेत रहेको रिमालले बताउनुभयो । यो अवधिमा प्रहरीले १३ क्विन्टल ७९ किलोग्राम गाँजा बरामद गरेको छ । त्यसैगरी ७ किलोग्राम अफिम, ३० ग्राम ब्राउनसुगर, सयौँ एम्पुल डाइजेपामलगायतका लागूऔषहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध ओसार पसारमा संलग्न भएकामा १७ वटा सवारी साधन बरामद गरी कारबाही गरिएको छ । बोलेरो भ्यान, स्कोरपियो जीपसहित ८ वटा दुईपाँग्रे साधन, ८ वटा चार पाँग्रे साधन र एउटा तीनपाँग्रे अटो बरामद गरिएको जिल्ला प्रहरी मकवानपुरको अभिलेखमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ५१ जना लागूऔषध मुद्दामा पक्राउ परेका थिए । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ८७ जना सोही मुद्दामा पक्राउ परेका हुन् । चालू आर्थिक वर्षको ६ महिनामा एक सय जना लागूऔषध मुद्दामा पक्राउ पर्नुले एक वर्षभरिमा यो संख्यामा वृद्धि हुने संकेत गरेको छ । पछिल्ला तीन वर्षमा लागूऔषध मुद्दाका ४ सय ३८ जना पक्राउ परेको प्रहरीको भनाइ छ ।

प्रहरीले पनि उत्पादनलाई निमिट्यान्न पार्न नसकेपछि ओसारपसारमा कडाई गर्ने नीति अख्तियारी गरेको छ । गाँजा ओसारपसारमा संलग्न तस्करहरुले राजमार्ग हुँदै सवारी साधनमार्फत् तराईका जिल्ला बारा, पर्सा, रौतहट, सिरहालगायत स्थानमा गाँजा लैजाने गरेको पाइन्छ । त्यसैगरी राजमार्ग छलेर मकवानपुरको मनहरी हुँदै पर्सा राष्ट्रिय निकुञ्ज (चुरे क्षेत्र) हुँदै पैदल बाटोमा भरियामार्फत तराईका बारा, पर्सा जिल्लामा गाँजा निकासी गर्ने गरिएको छ ।

गाँजा ओसार्ने धेरै जुक्ति

गाँजा ओसारपसारका लागि तस्करहरुले अनेक अनेक उपाय निकाल्ने गरेका छन् । सवारी साधनहरुमा अतिरिक्त स्थान निर्माण गरी प्रहरीले थाहा नपाउने बनाउनेदेखि लिएर डिजल ट्याङ्करका केजहरुमा समेत राखेर गाँजा ओसार पसार हुने गरेका छन् । त्यसैगरी भारतीय सवारी साधन र मानिस प्रयोग गरेर पनि गाँजा ओसारपसार हुने गरेका घटनाहरु प्रहरीले फेला पारेको छ । एम्बुलेन्समा समेत गाँजा ओसार पसार गरिएका घटनाहरु छन् ।

प्रहरी–गाउँले द्वन्द्व

मकवानपुरमा उत्पादित गाँजा विश्वमै राम्रो मानिन्छ । गाँजाको सर्को लाउन पाइने दाउले मकवानपुरका गाउँगाउँमा भारतीय जोगीहरुको समेत आउने जाने क्रम बाक्लो हुने गर्छ । विगतमा तराईका जिल्लाबाट आएका मधेसी मूलका मानिसले गाँजा प्राविधिक र व्यापारीको रुपमा काम गर्ने गरिए पनि अहिले स्थानीय किसानहरुले नै गाँजा खेती, उत्पादन र व्यापार गर्ने गर्दछन् । गाँजा व्यापारमा संलग्न मानिसको कनेक्सन तराईका तस्करहरुसँग हुने गरेको स्रोत बताउँछ ।

केही गाउँमा गाँजा भित्र्याउने कार्य बाँकी रहे पनि यो वर्ष अधिकांश स्थानमा गाँजा भित्र्याउने काम सकिएको छ । प्रहरीले गाउँमा गएर गाँजाकै निम्ति ‘अपरेसन’ गर्ने हो भने बग्रेल्ती गाँजा बरामद गर्न सकिने बताउँछ । तर, प्रहरीका निम्ति त्यो काम सजिलो छैन । विगतमा गाँजा बरामद गर्न जाँदा प्रहरी नै नाकाबन्दीमा परेको, प्रहरीमाथि कुटपिट भएको, हात भाँचेर पठाइएका घटनाहरु ज्वलन्त छन् ।

यता प्रहरी पनि किसानहरुलाई त्यसरी दुःख दिन चाहँदैनन् । त्यसो त राजनीतिक सरगर्मी बढेर चुनावको तयारी गरिरहेका राजनीतिक पार्टीहरु, मन्त्री, सांसद, जनप्रतिनिधिहरु नै प्रहरीले त्यसरी अघि बढ्न चाहेमा अवरोधक बनिदिन्छन् । अघिल्ला वर्षहरुमा पनि प्रहरी गाउँमा गाँजा फँडानीका लागि जाँदा मन्त्री, सांसद र गाउँपालिकाका अध्यक्षहरुको अनुरोध र दबाबका कारण ‘औपचारिकता’ मा केन्द्रित हुने गरेको थियो ।

–शिवकुमार काशी

टिप्पणीहरू