छोरो संक्रमित भएपछि दरबारमा अनेक आशंका
बेलायतका युवराज चार्ल्सलाई दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ । ७३ वर्षे चार्ल्सले संक्रमणको रिपोर्ट आउनुअघि ९५ वर्षीया आमा तथा महारानी एलिजाबेथसँग भेट गरेका थिए । महारानीमा हालसम्म त्यस्तो लक्षण नदेखिए पनि दरबारभित्र अनेक आशंका गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि २०२० को मार्चमा पनि राजकुमार चार्ल्स कोरोना संक्रमित भएका थिए । उनी र उनकी श्रीमती क्यामिलाले कोरोनाविरुद्धको बुस्टर डोज समेत लगाइसकेको बताइएको छ । महारानी एजिलावेथले अघिल्लो वर्षको प्रारम्भमा खोप लगाएको भनिए पनि बकिंघम दरबारले थप जानकारी दिएको छैन ।
चार्ल्समा कोरोना संक्रमण भए पनि त्यस्तो कडा लक्षण नदेखिएकाले आत्ति हाल्नुपर्ने अवस्था नरहेको बेलायती समाचार संस्थाहरुले जनाएका छन् । तर, राजकुमारसँगको भेटपछि महारानीको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे केही खुलाइएको छैन ।
अस्ति बुधबार उनै राजकुमार ब्रिटिश एशियाली ट्रस्टको स्वागत समारोहमा उपस्थित भएका थिए । जहाँ बेलायती वित्तमन्त्री रिशी सुनक, आन्तरिक मन्त्री प्रिती पटेललगायत धेरैजना पाहुनासँग उनले भलाकुसारीसमेत गरेका थिए । सुनकका प्रवक्ताले भने मन्त्रीको परीक्षण नेगेटिभ आएको जानकारी गराएका छन् ।
टिप्पणीहरू