संसद बैठक धकेल्न एमालेको आग्रहसँगै अमेरिकी मन्त्रीको फोन

संसद बैठक धकेल्न एमालेको आग्रहसँगै अमेरिकी मन्त्रीको फोन

पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आगामी सोमबार डाकिएको छ । राजनीतिक दलहरुको महाधिवेशन,कोरोना संक्रमण र कतिपय राजनीतिक दलका विभिन्न बैठकको निहुँमा मंसिरदेखि धकेलिँदै आएको बैठक पछिल्लो पटक अस्ति बुधबारको लागि तय भएको थियो ।

मंगलबार राति संसद सचिवालयले सूचना टाँस गरेर फागुन २ गते दिउँसोसम्मको लागि बैठक स्थगित भएको जानकारी गराइएको छ । अन्य राजनीतिक र प्रशासनिक एजेण्डा छायाँमा पर्दै आएको संसदको बैठक पछिल्ला दिनदेखि सतप्रतिशत अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतासँग जोडिन पुगेको छ ।

यसअघि फागुन १६ गतेसम्म सम्झौता पारित गरिदिने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लिखितपत्रका कारण उक्त विषय थप पेचिलो बनेको हो । सम्भौता अनुमोदन गरेर अमेरिकाको अगाडि साखुल्य बन्नुपर्ने बाध्यता सबैलाई छ । तर, आगामी निर्वाचनलाई ध्यानमा राखेर जनताको अगाडि एमसीसीको बिरोध गर्नैपर्ने बाध्यकारी अवस्थामा ठूला राजनीतिक दलहरु रहेको सर्वाधिक अप्ठेरो परिस्थितिलाई सबैले बुझेका छन् ।

यहि सन्दर्भमा हिजो अबेर एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आगामी सोमबारको बैठक सार्न अनुरोध गरेको छ । आफ्नो पार्टीको १ नम्बर प्रदेशस्तरीय बैठक निर्धारण भएकाले संसद बैठक सार्न एमालेले आग्रह गरेको हो । एमालेले गत साउनदेखि नै सभामुखको भूमिकाको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । एमसीसीको सम्बन्धमा उसले विपक्षी दलको भूमिकामा पुगेपछि हालसम्म मुख खालेको छैन ।

यसैबीच नेपालका ठूला राजनीतिक दलका नेताहरुलाई अमेरिकाले घर घरमा फोन गरेर एमसीसी सम्झौता ‘हुन्छ’ वा ‘हुन्न’ भन्न दबाब दिएको छ । अमेरिकी उपसहायक विदेशमन्त्री डोनाल्ड लुले हिजो प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सोझो जवाफ दिन भनेका हुन् ।

अमेरिकी मन्त्रीको टेलिफोनबारे पुष्टि गर्दै बालकोट र खुमलटार स्रोतले भनेको छ, ‘एमसीसी पारित गरिएन भने, यो काम नेपालका कम्युनिष्ट पार्टीको नभएर छिमेकी चीनको उक्साहटमा गरिएको अर्थ लाग्नेछ । बेलैमा विचार पुर्याउनुहोला । अन्यथा, अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नेछ ।’यसैवीच एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई पत्र लेखी २ गते एक नम्बर प्रदेशको पार्टी भेला जुध्ने भएकोले त्यो दिनको बैठक सार्न आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू