स्वास्थ्य मन्त्रीद्धारा सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो पहिलो एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले २० बुँदे प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
विवरण सार्वजनिक गर्दै मन्त्री खतिवडाले आफू मन्त्रालयमा आएपछि कोभिड खोपसँग सम्बन्धित नीति तथा दस्तावेज र स्वास्थ्य सेवा विस्तारसम्बन्धी भए गरेका कामको जानकारी गराउनुभयो । प्रधानमन्त्री घोषणा गरेको “खोप, खोप र खोप” लाई कार्यान्वयनमा लैजान मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरेको उहाँको भनाइ छ ।
विगतमा संघीय तहबाट कोभिड–१९ विरुद्धको खोप प्रदान गरिएकोमा अहिले कार्यनीति परिमार्जन गरिएको, खोप लगाएको क्यू.आर.कोडसहितको प्रमाणपत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरु गरिएको, खोप कभरेजको लक्ष्य तोकिएको, माघ २७ गतेसम्म ३ करोड ४८ लाख २५ हजार ६०१ जनालाई खोप लगाइएको पहिलो सय दिनको विवरणमा उहाँले उल्लेख गर्नुभएको छ ।
त्यस्तै,प्रयोगशालाको संख्या र परीक्षण क्षमता वृद्धि गरिएको, परीक्षणको मूल्य निजि अस्पताल तथा प्रयोगशालामा २ हजारबाट घटाई १ हजार ५ सय र सरकारी स्वास्थ्य संस्थामा हजारबाट घटाएर ८०० कायम गरिनुलाई पनि आफ्नो प्रगति विवरणमा उहाँले समेट्नु भएको छ ।
कोभिड–१९ संक्रमितको उपचार व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, आइसियू बेड, एचडियू बेडको संख्या वृद्धि गरी अस्पतालहरुको क्षमता अभिवृद्धि गरिएको, कोभिड–१९ युनिफाइड अस्पताल (बिर अस्पताल) मा २४ सै घण्टा हटलाइन सेवामार्फत परामर्श सेवा शुरु भएको, भारतसंग सिमाना जोडिएका प्रवेश बिन्दूहरुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुहरुमध्ये ९०% को स्क्रिनिङ भैरहेको तथा स्क्रिनिङ भएका मध्य ८७ % भन्दा धेरैको कोभिड–१९ को परीक्षण भैरहेको र कपिलबस्तुमा फैलिएको हैजाको प्रकोपलाइ समयमै नियन्त्रण गरी हैजाविरुद्धको खोप अभियानसमेत संचालन गरिएको पनि मन्त्री खतिवडाले आफ्नो सय दिने कार्यकालको महत्वपूर्ण उपलब्धिका रुपमा लिनुभएको छ ।
मन्त्री खतिवडाको नीति तथा दस्तावेजसम्बन्धी प्रगती विवरणमा नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८३) क्याविनेटबाट स्वीकृत भएको, दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना तर्जुमा गरि कार्य शुरु गरेको, नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी ३ ओटै तहमा जनगणना २०७८ मा आधारित मातृमृत्यु अध्ययन सम्पन्न गरेको उल्लेख गरिएको छ।
त्यसैगरी, ओमिक्रोनका बिरामीहरु बढदो क्रममा रहेकोले राष्ट्रिय संयुक्त बार्षिक समीक्षा भर्चुवल माध्यमबाट सम्पन्न गरिएको, कोभिड–१९ संक्रमित बालबालिकाहरूको उपचारसम्बन्धी प्रोटोकल तयार गरिएको, रेबिजविरुद्धको इम्यूनोग ग्बुलिन शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालबाट मात्र बितारण गरिदै आएकोमा हाल सातै प्रदेशका समान एक ओटा अस्पतालबाट निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको तथा देशको मध्य भागमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्ने उद्देश्यले समिति गठन गरि सम्भाव्यता अध्ययन कार्य भइरहेको पनि मन्त्री खतिवडाले उल्लेख गर्नुभएको छ ।
स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्था विस्तारसम्बन्धी कार्य विवरणमा २ हजार २०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरेको, जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुबिधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरेको र ५, १० तथा १५ बेडका २ सय २६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको जनाइएको छ ।
साथै, कार्य विवरण सार्वजनिक कार्यक्रमा पत्रकारले हराएको खोपको बारेमा नसोधेपछि आफ्नो नाम विरोध भएको र सोको विरोध आफै गर्ने भन्दै हराएको २४ लाख डोज खोप खेर गएको पनि हुनसक्ने आकँलन उहाँले गर्नुभयो । खोप कार्डका सम्बन्धमा मन्त्री खतिवडाले बुस्टर डोजको खोप लगाएर कार्ड नलिएकालाई लाज नमानि खोप कार्ड लैजानसमेत आग्रह गर्नुभयो । उहाँले पहिले लुकेर खोप लगाएकालाइ खोपकार्ड लिएर जान आग्रह गर्नुभएको हो ।
स्वास्थ्य मन्त्री खतिवडाले नेपालले विभिन्न देशबाट साढे ४ करोडभन्दा बढी कोरोना खोप पाएको पनि पत्रकारहरुलाई जानकारी दिनुभएको छ । ‘नेपालले हालसम्म खरिद र विभिन्न देशको अनुदान सहयोगमार्फत ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको छ’, उहाँले भन्नुभयो । जसमध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप नागरिकहरुलाई लगाइसकिएको उहाँले सुनाउनु भयो ।
हिजोसम्म १२ वर्षभन्दा माथिका लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा खोप दिई सकेको मन्त्री खतिवडाको भनाइ छ ।
टिप्पणीहरू