नाटक पनि अब भर्चुअल
कोरोना महामारीका कारण १३ औँ राष्ट्रिय बालनाटक महोत्सव भर्चुअल माध्यमबाट गरिने भएको छ । शैली थिएटरको आयोजना, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रको प्रस्तुतिमा महोत्सव हुन लागेको हो ।
नाटकको भिडियो शैली थिएटरको इमेल वा कार्यालय, रातोपुलमा आएर बुझाउन सकिने बताइएको छ । भिडियो खिच्दा एक सटमा लिइएको हुनुपर्नेछ । सम्पादन गरेको वा एकभन्दा बढी सटमा तयार गरिएको नाटकलाई प्रतियोगितामा सहभागी नगराइने आयोजकले जनाएको छ । नाटकको विषय बालबालिका सम्बन्धित हुनुपर्ने नियम छ ।
नाटकमा बढीमा १० जना मात्र सहभागी हुन पाइनेछ । त्यस्तै, एकल भिडियो पनि मान्य हुनेछ । नाटक कम्तीमा १५ मिनेटदेखि बढीमा ४५ मिनेटसम्मको हुनुपर्ने उल्लेख गरिएको छ । नाटकभित्र सद्भाव बिगार्ने, बालबालिकालाई नकारात्मक सन्देश दिने विषय अथवा शब्दको प्रयोग गर्न पाइने छैन ।
विषय, अभिनय, सेट, कस्ट्युम मुख्य मूल्याङ्कनको आधार बनाइने महोत्सवमा उत्कृष्ट तीन नाटकलाई नगद १५ हजारसहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । फागुन १५ गतेसम्म भिडियो बुझाइसक्नुपर्नेछ भने सो मितिभन्दा पछाडि आएको भिडियोलाई प्रतियोगितामा सहभागी नगराइने आयोजकको भनाइ छ ।
टिप्पणीहरू