एमसीसी कसरी पास गर्ने ? कमल थापाले दिए सुझाव

एमसीसी कसरी पास गर्ने ? कमल थापाले दिए सुझाव

राप्रपा छाडेका पूर्वअध्यक्ष कमल थापाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन सबै राजनीतिक दलको सहमतिमा हुनुपर्ने बताएका छन् ।

थापाले उक्त सहयोग सम्झौताका सन्दर्भमा केही गम्भीर प्रश्न उठेकाले तिनको निराकरण गरेर मात्र पास गर्नुपर्ने सुझाव दिएका हुन् ।

झापाको दमकस्थित आफन्तको विवाहमा सहभागी हुन पुगेका थापाले आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै एमसीसीबारे उठेका प्रश्नहरुको निराकरण गरेर र दलीय समझदारी बनाएर मात्र पारित गर्नु उपयुक्त हुने बताएका छन् । ‘दलहरुबीच समझदारी बनाएर एमसीसी पारित गर्दा कुनै समस्या हुँदैन,”उनले भने ।

एक अर्को प्रसंगमा थापाले फागुन पहिलो साताभित्र राष्ट्रिय एकता नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिसक्ने जानकारी दिएका छन् । नयाँ पार्टीले हिन्दूराज्य, समृध्दि र सुशासनलाई मुख्य प्राथमिकता दिने उनको भनाइ छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले राखेका सामान्य माग पूरा गर्न नचाहेकाले राप्रपाबाट राजीनामा दिएको उल्लेख गर्दै थापाले भने, ‘तर पीडावोध भइरहेको छ ।’

टिप्पणीहरू