डा.शेखर कोइराला पनि एमसीसी सार्न तयार
सत्तारुढ नेपाली कांग्रेसमा एमसीसीबारे एकमत रहेको भनिएका बेला नेता डा.शेखर कोइराला भने केही समय सारेर भए पनि परिस्थिति सम्हाल्नुपर्ने पक्षमा रहेको खुलेको छ । हिजो बिहान खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा कोइरालाले त्यस्तो धारणा राखेको जानकार स्रोतले बताएको छ ।
एमसीसी चुनावपछिसम्म सार्न गठबन्धनको बैठकमै औपचारिक प्रस्ताव गर्नुभएका प्रचण्डलाई कोइरालाले आफ्नो व्यक्तिगत धारणा पनि त्यहि रहेको सुनाएका थिए । स्रोतले भनेअनुसार कोरालाले आफू व्यक्तिगत रुपमा एमसीसी पछाडि सार्ने पक्षमा रहेको तर प्रधानमन्त्री सहमत नहुँदासम्म आफ्नो मत पार्टीमा निर्णायक नहुने बताएका थिए । प्रधानमन्त्रीमाथि अमेरिकाले चर्को दबाब बढाएकाले एमसीसीबारे निर्णय लिनैपर्ने बाध्यता परेको उनले भनेको स्रोतले दाबी गरेको छ।
कोइरालालाई उधृत गर्दै स्रोत भन्छ, ‘एमसीसी निल्नु न ओकल्नु भयो । पछाडि धकेल्न पाए हुन्थ्यो तर, प्रधानमन्त्रीमाथि दबाब छ,के गर्ने !’
प्रचण्डसँगको छलफलमा उनले पाँच दलीय गठबन्धनबारे पनि आफ्नो प्रष्ट धारणा राखेको स्रोत सुनाउँछ । संविधान र लोकतन्त्रको रक्षाका लागि मिलेर सरकार चलाउन गठबन्धन ठीक भए पनि चुनावी तालमेल भने सम्भव नहुने उनले प्रष्टै भनेका थिए । गत स्थानीय तहको चुनावी परिणामले पनि कांग्रेस र माओवादीबीच तालमेलमा व्यवहारिक कठिनाइ हुने कोइरालाको तर्क थियो ।
‘हाम्रा कार्यकर्ताले तपाईंहरुलाई भोट हाल्दैनन्,माओवादी कार्यकर्ताले काँग्रेसलाई भोद दिंदैनन् । त्यसैले गठबन्धन गरे झन् घाटा हुन्छ। यो व्यवहारिक पनि छैन’, कोइरालाले प्रचण्डलाई भनेका थिए।
एमसीसीका कारण दलहरुबीच विवाद र शक्ति केन्द्रहरुको चलखेल बढिरहेका बेला राजनीतिक सक्रियता बढाएका कोइरालाले यसअघि अस्ति एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पनि भेटघाट गरेका थिए । ओली निवास बालकोटमा भएको चार घण्टा लामो छलफलबारे केही खुलेको छैन तर कोइरालाले भने खास कुरा केही नभएको र ओलीले गुनासो मात्रै सुनाएको उनी निकटहरुले बताएका छन् ।
यता, प्रधानमन्त्री देउवाले एमसीसीलाई जीवन-मरणकै सवाल बनाउन थालेपछि पाँचदलीय गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउन थालिएको छ । पछिल्लो परिस्थितिबारे विश्लेषण गर्दै बाम खेमाका एक नेता भन्छन्, ‘फेरि वामपन्थीहरु मिल्छन् भन्ने डरले अमेरिका र शेरबहादुर पछि हटे मात्र हो,नत्र गठबन्धन फुट्दैछ ।’
टिप्पणीहरू