पालैपालो अमेरिकाबाट यसरी आयो फोन
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारबाट हटाउन सहयोग गरेको भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग अप्रत्यक्ष गुनासो गर्नुभएको छ । हिजो साँझ लुसँगको टेलिफोन कुराकानीका क्रममा ओलीले त्यस्तो गुनासो गरेको उच्च स्रोतले बताएको छ ।
हिजो साँझ सवा ७ बजे ओलीलाई वासिङ्गटनबाट फोन आएको थियो । शुरुमा अमेरिकी स्टेट डिपार्टमेन्टका कर्मचारीले फोन गरेर ओलीलाई लुसँग जोडेका हुन् ।
कुराकानीमा लुले एमसीसी मुख्यालयले नेपाललाई लेखेको पत्र र नेपालका नेताहरुले एमसीसी पास गर्न गरेको प्रतिवध्दतासहित समेटिएको सँक्षिप्त टिपोट पढेर सुनाएका थिए । सो क्रममा उनले एमसीसी पास गर्ने ओलीको पुरानो प्रतिवध्दता पनि स्मरण गराए ।
कुराकानीको बिट मार्दै लुले ‘महामहिमज्यू,समय दिनुभयो, धन्यवाद !’ भनेपछि ओलीले ‘अब मेरो कुरा सुन्नुस्’ भनेर आफ्नो गुनासो शुरु गर्नुभयो । बताइएअनुसार ओलीले एमसीसी पास नहुनुमा आफू जिम्मेवार नरहेको बताउनुभएको थियो ।
एमसीसी सम्झौता आफूले नगरेको र सम्झौता गर्ने बेला सरकारमा हुनेहरु नै अहिले पनि सरकारमै भएकाले उनीहरु नै जिम्मेवार हुनुपर्ने ओलीको तर्क थियो । ओलीले जोड दिँदै भन्नुभएको थियो,’शुरुमा हामीले सम्झौता गरेको होइन,रोकेको हामीले पनि होइन, नपत्याए तपाईंको राजदूतलाई सोध्नुस् ।’
‘शुरुमा हामीले सम्झौता गरेको होइन,रोकेको पनि हामीले होइन, नपत्याए तपाईंको राजदूतलाई सोध्नुस् ।’
फोन वार्ताका क्रममा ओलीले घुमाउरो हिसाबले आफूलाई हटाउन अमेरिकाले सहयोग गरेको भन्दै गुनासो मिश्रित असन्तुष्टि राख्नुभएको पनि स्रोतले सुनायो । ‘केपी ओलीलाई हटाउन दिनुस् अनि हामी पास गराउँछौं भन्नेहरु नै सरकारमा छन्,त्यसैले पहिले सरकार बोलोस् भन्ने हाम्रो कुरा हो । तपाईंले पनि उनीहरुलाई सोध्नुहोला के गर्छन्’, ओली-लु संवाद उधृत गर्दै स्रोतले भन्यो, ‘सरकारले एमसीसी सदनमा ल्याओस् अनि हामीले बोल्ने त छँदैछ नि !’, ओलीको भनाइ थियो ।
लगत्तै साँझ सवा ८ बजे ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोन गयो । बताइएअनुसार दुई अध्यक्षबीच केहीबेर गरमागरम कुरा भएको थियो । प्रचण्डले तत्काल एमसीसी थाती राख्न अमेरिकालाई आग्रह गर्नु उपयुक्त हुने भन्दै त्यसका लागि प्रमुख दलहरु मिल्नुपर्ने प्रस्ताव गरेको तर,ओली सहमत नभएको बुझिएको छ ।
ओलीले ‘तपाईंहरुले नै गिजोलेको हो,तपाईंहरु नै सल्टाउनुस्’ भन्दै प्रचण्डलाई कडा जवाफ दिनुभएको थियो । ओलीले अहिले पास गर्नु र चुनावपछि गर्नुमा के फरक छ ? भनेर प्रचण्डलाई प्रश्न गर्नुभएको पनि स्रोतले बताएको छ ।
प्रचण्डले ओलीलाई फोन गर्नुअघि विदेश मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डसँग कुराकानी गरिसकेका थिए ।
टिप्पणीहरू