घाँटी जँचाउन गएका आइजीपी सुरक्षा घेरासहित दिल्लीको सपिङ मलमा
घाँटीको उपचार गराउन भन्दै गत हप्ता नयाँ दिल्ली पुगेका सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल यतिखेर किनमेलमा व्यस्त देखिएका छन् । उनी हतियारधारी भारतीय सीमा सुरक्षा बल (SSB) को घेरामा राजधानीको व्यस्त र महँगो सपिङ एरियामा पुगेका हुन् ।
नयाँ दिल्लीको कनाट प्लेसमा खनाल सशस्त्र प्रहरीको झण्डा र तीन तारे प्लेट हालिएको डिएल १२ सीके ७५४४ नम्बरको सेतो गाडीमा पुगेका थिए । उपचार गराउन गएका बिरामी चिटिक्क परेर अस्पतालभन्दा बाहिरै बजारतिर भेटिएपछि बाराखम्बा रोडस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरु दङ्ग परेका छन् । उनले दिल्लीमा घुमघाम गर्दा मुखमा मास्कसमेत लगाएका छैनन् ।
“नयाँ दिल्लीको कनाट प्लेसमा खनाल सशस्त्र प्रहरीको झण्डा हालिएको डिएल १२ सीके७५४४ नम्बरको सेतो गाडीमा पुगेका थिए ।”
गत आइतबार दिउँसो साढे तीन बजेको उडानबाट उनी त्यसतर्फ गएका हुन् । गृह मन्त्रालयका हाकिमहरूले खनाल साँच्चैको बिरामी भएर गएका हुन् कि २६ गते एमसिसी पेश हुँदाको अवस्थामा उत्पन्न हुनसक्ने उपद्रबलाई छल्ने बहानामात्रै पारेका हुन् भन्ने आशंका आइतबार नै गरेका थिए ।
उनी बिरामी नै हुन् र अपरेशनसम्मको सम्भावना हो भने परिवारका सदस्य पनि साथ लैजानुपर्ने आकलन गरिएको थियो । तर परिवार काठमाडौंमै छन् । उनीसँग सशस्त्रका जनरल फिजिसियन डिएसपी रोशन झा मात्र गएका छन् ।
यसअघि प्रधानसेनापति प्रभुराम शर्मा घाँटीको थाइराइड बढेपछि उत्पन्न पत्थरीको उपचार गराउन परिवारसहित दिल्ली गएका थिए । उनले गुरुग्रामको मेदान्त अस्पतालमा उपचार गराएका हुन् ।
एक हप्ताको छुट्टी मिलाएर भारत उडेका खनालले अस्पताल पुगेको देखाउन स्थानीय म्याक्स अस्पतालको भुईंतल्लामा उभिएर एउटा फोटो भने खिचेका छन् ।
टिप्पणीहरू