एकीकृत समाजवादी निकट प्राध्यापकको सँगठन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट प्राध्यापकहरूको छाता संगठन प्रगतिशील प्राध्यापक संगठन नेपालको पहिलो भेला सम्पन्न भएको छ । आज शनिवार राजधानीस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा आयोजित भेलाले १२१ सदस्यीय अधिवेशन आयोजक कमिटी चयन गरेको छ ।
कार्यक्रममा बोल्दै सल्लाहकार परिषदका सदस्य प्राध्यापक विजयबहादुर सिलवालले कोभिडको समयमा पनि निरन्तर काम गर्ने टास्क फोर्सलाई बधाई दिए । उनले पुरानो कार्यसमिति भंग गरी नयाँ कार्यसमितिलाई अनुमोदन गर्न अनुरोध गरे ।
भेलामा बोल्दै नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा संघीय सांसद प्रा.डा. पुष्पा कर्णले पार्टी र सांसद दुवैलाई प्राध्यापकहरूले सहयोग गर्नुपर्ने बताइन् । उनले भनिन्,नवौँ महाधिवेशनमा नीति बनाउने मान्छे नेतृत्वमा नपुगी अराजकहरूको नाइके पार्टीको नेतृत्वमा पुगेका कारण सिंगो कम्युनिष्ट आन्दोलन धराशायी भयो । उनले अहिले हाम्रो उपस्थिति कम भए पनि क्रिम उपस्थिति भएकाले भोलिको कम्युनिष्ट आन्दोलनको नेतृत्व एकीकृत समाजवादीले नै गर्ने बताइन् ।
पार्टी केन्द्रीय सदस्य तथा प्रगतिशील प्राध्यापक संगठनकी पूर्व उपाध्यक्ष प्रा.डा. विन्दु आचार्यले अहिले पार्टी निर्माणको संगीन चरणमा रहेको बताइन् । उनले प्रगतिशील प्राध्यापक संगठनले गतिशील ढंगले काम गर्न थालिसकेको बताइन् । उनले केपी ओलीको शासनलाई राणा शासनसँग तुलना गर्दै ओली शासनको अवसान पनि दुखद हुने बताइन् । ओलीले टिके प्रथाबाट दिएर पदधारण गरेका हुक्के र भारदारको पतन निश्चित भएको उनको भनाइ थियो ।
प्राध्यापक डाक्टर गोविन्द सुवेदीले कार्यक्रमको अध्यक्षता गर्दै केपी ओलीको नेतृत्वमा एमाले दक्षिणपन्थी भासमा भासिएकाले विद्रोह गर्नुपरेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै टास्क फोर्स,एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालका सदस्य डाक्टर ढाकाराम सापकोटाले केपी ओलीका कारण देश अहिले जटिल मोडमा पुगेको बताए । करिब दुईतिहाई नजिकको सरकार ढल्नुपर्ने अवस्थामा पुग्दासमेत केही प्रगतिशील प्राध्यापकले टिके प्रथालाई बढावा दिएको बताए ।
त्यसैगरी पब्लिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै डाक्टर वेदबहादुर कुँवरले टिकेप्रथाविरुध्दको घमासान युध्दमा होमिन यस संगठनको आवश्यकता रहेको बताए । उनले भने-विधिको शासन सञ्चालनमा आगामी दिनमा हामीले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको छ । टुटाका केन्द्रीय सदस्य टिकाराम ढकालले कोभिड महामारीका कारण अधिवेशन रोकिए पनि चाँडै नयाँ नेतृत्व चयन गरिने विश्वास व्यक्त गरे ।
नेपाल बुध्दिजीवी परिषद्का सचिव केबी खड्काले गरे हुन्छ भन्ने आत्मविश्वास राखेर साविक एमालेसँग विद्रोह गरी एकीकृत समाजवादीले स्वाभिमानी बामपन्थी शीर उँचो राखेको बताए । उनले भने,प्रगतिशील बामपन्थी संगठनले आगामी दिनमा अरूका भन्दा प्रगतिशील कार्यक्रम ल्याउन र गति बढाउन अग्रसर हुनुपर्छ । विश्वविद्यालयमा कार्यरत प्राध्यापकको नियुक्तिमा समेत अपेक्षाभन्दा फरक भएकाले हाम्रा साथीहरूलाई सही ठाउँमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले फागुन १ गते देशैभर एमसीसी सम्झौताविरुध्द आन्दोलन गरिने बताए । उनले भने, विश्वविद्यालयलाई ज्ञानको भण्डारका रूपमा विकास गर्न समाजवादी सम्बद्ध प्राध्यापकहरूको महत्वपूर्ण भूमिका रहनेमा अनेरास्ववियू विश्वस्त छ ।
पार्टी केन्द्रीय सदस्य तारा जोशीले पार्टीको संगति र विचार निर्माणमा प्राध्यापकहरूले नै दिशा निर्देश गर्ने भएकाले जिम्मेवारीपूर्ण कार्य गर्नेमा विश्वास व्यक्त गरे । उनले भने, तपाईँहरूको यो उपस्थितिमा म गर्व गर्छु,तपाईँहरूको यत्तिको उपस्थितिले हाम्रो पार्टी बलियो हुन्छ भन्नेमा शंका छैन । तपाईँहरूकै सहयोगमा हामी एकीकृत समाजवादी पार्टीको तर्फबाट समाजवादी केन्द्रीयताको नयाँ आयाम थप्न सक्छौँ ।
कार्यक्रममा प्राडा टेकनाथ भोला भट्टराई,रुद्रप्रसाद पौडेल,नरेन्द्र भट्टराई लगायत १०० भन्दा बढी प्राध्यापकको उपस्थिति रहेको आयोजकहरुले बताए ।
टिप्पणीहरू