‘मामा’ फेर्न मुसहर समुदायलाई त्रियुगा नगरले सहयोग गर्ने
मामा अर्थात् माछा मार्ने र माटो काट्ने काम गर्ने मुसहरहरूको परम्परागत पेशाले जीवन धान्न मुश्किल भएपछि त्रियुगा नगरपालिकाले आर्थिक उपार्जनको निम्ति समुदायस्तरमै पेसा परिवर्तन गर्न छलफल चलाएको छ । आर्थिक उपार्जनमा सदा समुदायको संलग्नता विषयक अन्तरक्रिया कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले राजनीतिक, सामाजिक र आर्थिकलगायत पछाडि परेकाले उत्थानका लागि यस्तो छलफल आवश्यक भएको बताए ।
भेलामा उपस्थित रहेका सदा समुदायका महिला तथा पुरूषहरूले प्लम्पिङ, सैलुन, ड्राइभिङ, अगरबती बनाउने, सिकर्मी डकर्मीलगायतको तालिम दिनुपर्ने र तालिमपछि व्यवसाय सञ्चालन गर्न सहयोग अनुदान र आंैजार दिनुपर्ने बताए । छलफलबाट निकालिएको निचोडअनुरूप कार्यक्रम बनाएर पेशा परिवर्तन गर्न उत्साहित तुल्याउने दाबी मेयर चौधरीले गरे ।
भेलामा सदा समुदायको एकमात्र जनप्रतिनिधि त्रियुगा नगरपालिका वडा नम्बर १२ कि किसनवती सदाले सदा समुदायमा रहेको विकृति नहटेसम्म उन्नति नहुने बताए । त्यसैगरी ऋषि कुल सदा समुदायका अगुवा मिश्रिलाल सदाले पैसा हुञ्जेल काम गर्न नजाने र घरमै बसेर रक्सी पिउने चलन छाड्नुपर्ने बताए ।
भेलाका सहभागीले दैनिक ज्यालादारीमा काम गर्ने, तालिम र यस्तो कार्यक्रममा आउँदा हातमुख जोड्न गाह्रो हुने बताएपछि मेयर चौधरीले नगरपालिकाले आयोजना गर्ने कार्यक्रममा भाग लिँदा अबदेखि सदा समुदायका सहभागीलाई चलनचल्तीको ज्याला बराबरको रकम उपलब्ध गराउने नीतिगत निर्णय गर्ने बताए । कार्यक्रममा उद्यम शाखा प्रमुख राजकुमार खड्काले त्रियुगा नगरक्षेत्रमा रहेका सदा समुदायको अवस्थाबारे जानकारी गराएका थए ।
त्यसैगरी अर्का सहभागी घरेलु तथा साना उद्योगका अध्यक्ष मधुकर थापाले सीप विकास गर्न र उद्यम दर्ता गर्न सहयोग गर्ने बताए । अन्य समुदायले मुसहर भने पनि यो समुदायले आफूलाई सदा भन्ने गर्छन् ।
टिप्पणीहरू