काङ्ग्रेस प्रवक्तालाई कम्युनिस्टहरु मिल्ने डर

काङ्ग्रेस प्रवक्तालाई कम्युनिस्टहरु मिल्ने डर

एमसीसी विवादले पाँचदलीय गठबन्धन टुट्ने चर्चा भैरहेका बेला नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले त्यस्तै संकेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्रसमेत रहेका महतले कुनैपनि बेला वामपन्थी पार्टी मिल्नसक्ने भएकाले चनाखो हुनुपर्नेसमेत बताए ।

कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न कार्यकर्तालाई अह्राएका हुन् । पूर्वसांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिवार चितवन पुगेका महतले काँग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न पनि नहुने बताए । कांग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा गर्ने निर्णय छ ।

‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’

पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नै पर्ने भन्दै उनले एक ढिक्का भएर यसमा केन्द्रित हुन आग्रह गरे । ‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ ।’ नेता महतले गठबन्धनको स्थायित्वका विषयमा कांग्रेसले आवश्यकताका आधारमा निर्णय लिने बताए । ‘निर्वाचनमा गठबन्धन गर्दैनौं भन्यो भने कम्युनिस्टहरू मिल्न सक्छन्’,उनले भने, ‘त्यसको विषयमा कांग्रेसले पछि निर्णय लिने छ ।’

फरक प्रसंगमा बोल्दै उनले एमसीसी सम्झौताको पक्षमा सबै दलहरूको समर्थन रहे पनि अमुक मान्छेहरूले गलत प्रचार गरिरहेको आरोप लगाए । पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतले एमसीसी सम्झौता संसदबाट पास भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने गलत कुरा भएको बताए ।

‘एमसीसीका बारेमा अहिले भएको विरोध नियोजित हो’, उनले भने, ‘एमसीसीलाई राजनीतिकरण गर्न खोजियो ।’ सरकारले ल्याएका प्रस्ताव संसद‍्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको भन्दै उनले सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद‍्मा पेश गर्छु, यो गर्दिनँ भन्न नमिल्ने बताए ।

टिप्पणीहरू