४० बर्ष बित्थामा जेल बस्दा ८ लाख

४० बर्ष बित्थामा जेल बस्दा ८ लाख

भारतमा ४० वर्ष जेल जीवन बिताएका दुर्गाप्रसाद तिम्सिनाले आठ लाख पाएका छन् । इलामको माई नगरपालिका-१० लुम्बकका उनले क्षतिपूर्तिवापत भारत सरकारले उपलब्ध गराएको भारु पाँच लाख (आठ लाख नेपाली रुपैयाँ) आज बुझेका हुन् ।

गत वर्षको मंसिरमा कोलकाताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई तत्काल पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो । सोहीअनुसार भारत सरकारले दिएको चेक आज कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले झापाको काँकडभिट्टामा दुर्गाप्रसादलाई हस्तान्तरण गरेका हुन् ।

उच्च अदालतले तत्काल उनको शारीरिक,मानसिक अवस्था हेरेर र जेल प्रशासनले दिन मिल्ने गरी पाँच लाख भारतीय रुपैयाँ दिएको उनले जानकारी दिए । यद्यपि क्षतिपूर्तिका लागि भने अब मात्र प्रक्रिया शुरु हुने उनले बताए ।

दार्जिलिङकी एक महिलाको हत्या आरोपमा ४० वर्ष विना सुनुवाइ जेल जीवन बिताएका गत चैतमा उच्च अदालत कोलकाताले उनको शारीरिक र मानसिक अवस्था कमजोर भएको भन्दै छाड्न आदेश दिएको थियो । उनको अवस्थाबारे महावाणिज्य दूतावासले ६/६ महिनामा अदालतलाई जानकारी गराउँदै आएको छ ।

टिप्पणीहरू