सैनिक सचिव किन गुप्तचरतिर सारिए ?

सैनिक सचिव किन गुप्तचरतिर सारिए ?

नारायणहिटी राजदरबारका धेरैजसो संरचनामा व्यापारिक समूह बतासले आफ्नो पकड जमाइरहेकै बेला अहिले त्यहाँ बेग्लै हिसावले नेपाली सेनाको प्रवेश भएको छ । वर्षेनी शिवरात्रिका अवसरमा मनाइने सेना दिवशका क्रममा यसचोटि गरिने कबाज र विविध प्रदर्शनीको अभ्यासका लागि सेना उपत्यका कमाण्ड अवस्थित नारायणहिटी परिसरभित्र छिरेको हो ।

अघिल्ला वर्षहरूमा त्यस्तो अभ्यास टुँडिखेल र सेना दिवश पनि त्यहीँ हुन्थ्यो । यसचोटिको शिवरात्रि र सेना दिवश फागुन १७ मा छ । त्यसका लागि नारायणहिटी हाताभित्र रहेको सेनाको चौरमा अभ्यास चलिरहेको सैनिकस्रोतले जनाएको छ ।

त्यसक्रममा विभिन्न विभागले आ–आफ्ना कलाकौशल प्रदर्शन गर्नुका साथ उसले चलाउने हातहतियार तथा विदेशी मिशनमा प्रयोग हुने एपिसीसहितका उपकरणको झाँकी देखाइन्छ । गतवर्ष त प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेलमै बालुवाको ढिस्कोमाथि शिवको मूर्ति ठड्याएका थिए ।

गत वर्ष २ नम्बर प्रदेशअन्तर्गत धनुषा, सिन्धुली र सिराहाबीच बागमतीको बगर र चुरेको जंगलमा भएको पृतना तहको अभ्यास यसवर्ष भोलि २७ गतेदेखि सुर्खेतमा कमाण्ड तहको हुने भएको छ । सेनाले वर्षेनी जमिन, आकाश, जंगल र नदीनालासम्मका अभ्यास गर्ने गरेको छ ।

अर्कातिर, सिन्धुलीस्थित सेनाको पुरानो गोरख गणका गणपति राजिव थापा लेबनान मिशनबाट फर्किनेबित्तिकै थुनामा पर्ने चर्चा थियो । तर, हाल जंगी अड्डास्थित शान्तिसेना निर्देशनालयमा हाजिर भइरहेका छन् र जर्नेल सुशील भण्डारीको संयोजकत्वमा छानवीन टुंगिएको छ ।

आउनेबित्तिकै थुनामा राख्दा बरबुझारथका काम बाँकी हुने कारण अहिले चर्को निगरानीसहित शान्तिसेनामा हाजिर गराइएको हो । अभियोग पुष्टि भएपछि अर्का जर्नेलको अध्यक्षतामा कोर्टमार्शल गठन हुन्छ र जंगी अड्डाभित्रै लाइन अरेस्टमा पर्छन् । राजिव अघिल्ला प्रधानसेनापति पूर्णचन्द्रका नातेदार हुन् ।

त्यस्तै, राष्ट्रिय सेवा दलका हाकिम रघु भण्डारीकी छोरी डा.रक्षा मध्यअफ्रिकी मिशनको विवादमा मुछिएकी छन् । युद्धभैरव गणका गणपति राजीव शाही पनि यसैमा तानिएको बताइन्छ ।

उता, जर्नेलकै छोरा र जर्नेलकै छोरीबीच माया बसेको हो कि के हो कुन्नि, केटाले भोजहरूमा भेट हुँदाका फोटा फेसबुकमा हालिरहँदा परिवारमा तनाव थपिएको छ । बेतनबृत्तिमा रहेका ब्रिगेडियर जर्नेल याम सापकोटाका डाक्टर छोराले हो भर्खरै म्याद थपिएका २ तारे जर्नेल ताराध्वज पाण्डेकी डाक्टर छोरीसँगका फोटो हालेर सामाजिक सञ्जाल रंग्याउने गरेको ।

सैनिकस्रोतका अनुसार, जंगी अड्डाभित्रै बसेर नेतृत्वलाई मन नपर्ने काम गर्न थालेपछि सैनिक सचिवको जिम्मेवारीबाट ब्रिगेडियर सुनिल श्रेष्ठ पाँच महिनामै हटाइएका छन् । प्रभुराम शर्मा प्रधानसेनापति हुनासाथ धादिङको बैरेनीस्थित नं. ६ बाहिनीबाट मुख्यालय ल्याइएका उनलाई त्यहाँबाट हटाई इन्टेलिजेन्स निर्देशनालयमा पठाइएको छ ।

उनले युद्धभैरव पल्टनकालाई मात्रै च्याप्ने गरेको बताइन्छ । सुनिल तिनै सैनिक अधिकृत हुन्, जसले ०५८ मा दरबार हत्याकाण्ड हुँदा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई छाउनीबाट बालुवाटार फर्कनेक्रममा ढुंगामुढाबाट बचाएका थिए ।

टिप्पणीहरू