राजा वीरेन्द्रका नातिनीको नाममा राजनीति
मानौँ, राजसंस्था व्युँतियो । त्यसपछि राजगद्दीमा को बस्छ ? भर्खरै राप्रपा अध्यक्षमा पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रोशित कमल थापासँग यसको एउटा सूत्र रहेछ, ‘राजसंस्था मान्ने, तर ज्ञानेन्द्रको परिवारलाई नमान्ने !’ अर्थात्, वीरेन्द्रको वंशलाई राजगद्दी सुम्पिएर राजसंस्था पुनस्र्थापित गर्ने !
उनका जुक्ति पनि ठीक त्यस्तै, जस्तो केपी ओलीका थिए । कोहीसँग बदला लिनु परे वा तर्साउनु परे कुनै कमजोरी समायो, खेल्यो, सबलाई रिंग्यायो । भनिन्छ, अहिले कमल थापा पूर्वराजालाई ‘साइजमा ल्याउनुपर्छ’ भन्दै केपीशैलीका उपाय सुनाइरहनुभएको छ ।
निकटस्थहरूसँग उहाँको मन्त्रणा छ, ‘दरबार हत्याकाण्डको छानवीन गर्ने, दोषी ज्ञानेन्द्र हुन्, उनैलाई ठहर गर्ने !’ यसरी राजसंस्था पुनस्र्थापनाको मुद्दा बोक्दै नयाँ राजनीतिक धार निर्माण गर्न उहाँले हिजोदेखि राप्रपा छाड्नुभएको छ ।
कमलको प्रस्ताव छ, ‘महाराज वीरेन्द्रकै वंशलाई राजगद्दीमा राख्ने । त्यसका लागि उपयुक्त पात्रका रूपमा वीरेन्द्रपुत्री श्रुती र गोरखसमशेरबाट जन्मिएका छोरीहरू गिर्वाणी वा सुरांगनामध्येलाई रानी बनाउने ।
गिर्वाणी २३ वर्षकी छन् भने सुरांगना २० की भइन् । पारिवारिकस्रोतका अनुसार, दुबै दिदी बहिनी अहिले भारतका फरक–फरक शहरमा अध्ययनरत छन् । त्यसमध्ये गिर्वाणी बैंग्लोरको एक कलेजमा पढ्दै छिन् भने केही वर्षअघिसम्म सुरांगना देहरादुनको वेलह्याम छात्रा स्कुलमा अध्ययनरत थिइन् ।
कमल थापाबारे यस्ता अनेकन गन्थन सुनेपछि आइतबार बेलुका उनलाई भेट्न बूढानीलकण्ठस्थित निवासमा पुगे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । उक्त भेटमा कमल थापाले मिल्दो र चाहिँदो कुरा केही गरेनन् ।
नहुने र नमिल्ने कुरा गरेर आफू राप्रपाको मूलधारमा नफर्किने संकेत गरेको लिङ्देनले निकटस्थहरूसँग बताएका छन् । उनले महाधिवेशनमा निर्मल निवासको चलखेलबारे छानवीन गर्नुपर्ने माग राखेका थिए ।
महाधिवेशनका क्रममा पूर्वराजाका सचिवहरूले प्रतिनिधिहरूलाई फोन गरेर लिङ्देनका लागि भोट मागेको र आफू हारेको कमल थापाले बताउने गरेका छन् । राप्रपाका एक नेता भन्छन्, ‘नागरिकका रूपमा बसेको राजाको सचिवले फलानोलाई भोट हाल भन्नु सामान्य कुरा हो ।’
उनी भन्छन्, ‘यत्रो वर्ष दरबारबाट पालिएको कमल थापा आज केपी ओली, माधव नेपाल र प्रचण्डहरूको लाइनमा गए ।’ स्रोतका अनुसार, लिङ्देनले चाहेअनुसार नै कमल थापाले हिजोदेखि फरक बाटो लिएका छन् ।
टिप्पणीहरू