घर जलेकालाई कमलो मन भएकाहरुको हात
पाँचथर कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारका अग्नि पीडितलाई उद्योग वाणिज्य संघ यासोकले राहत सहयोग गरेको छ । एक लाख ४९ हजार १ सय रुपैयाँ संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको संघका संस्थापक अध्यक्ष गोपाल पोख्रेलले जानकारी दिए ।
संस्थापक अध्यक्ष पोख्रेल,निवर्तमान अध्यक्ष नरेन्द्र बोहोरा,महासचिव महेन्द्र खड्का,व्यवसायी वीरेन्द्र खड्का,केशप थापा,बमबहादुर बोहोरा,गोपाल खड्कालगायतको सक्रियतामा रकम आज आयोजित एक कार्यक्रममा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । शनिवार साँझ भएको आगलागीबाट झरेन्द्र खतिवडाको घरसहित पाँच पसल जलेर खरानी भएका थिए ।
आगलागीबाट ठूलो क्षति व्यहोरेका खतिवडालाई संघका संस्थापक अध्यक्ष पोख्रेलले ८९ हजार १ सय रुपैयाँ हस्तान्तरण गरे । त्यस्तै अर्का व्यवसायी याम रम्तेल र टेकबहादुर नेपाली (बिचारी) लाई २० हजारको दरले रकम दिए ।
मिलन गर्तौला र शर्मिला लावतीलाई १२ हजार ५ सयका दरले सहयोग गरिएको संघका महासचिव महेन्द्र खड्काले जानकारी दिए । पीडितहरुका लागि उद्योग वाणिज्य संघ शाखा यासोकले राहत संकलन अभियानलाई निरन्तरता दिने संघका निवर्तमान अध्यक्ष नरेन्द्र बोहोराले बताए ।
टिप्पणीहरू