ओलीले सांसदहरुलाई किन ६ वटा खाली कागजमा सही गर्न लगाए ?

ओलीले सांसदहरुलाई किन ६ वटा खाली कागजमा सही गर्न लगाए ?

नेकपा एमालेले आफ्ना सांसदहरुलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएको छ । प्रधानन्यायाधी चोलेन्द्रसमशेर राणाविरुध्द महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसको काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुध्द महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला सांसदहरुको हस्ताक्षर जुटाइएको हो ।

बैठक स्रोतका अनुसार हस्ताक्षर संकलन गरिए पनि प्रयोजन भने खुलाइएको छैन । तर, चार जना न्यायाधीश र सभामुखविरुध्द कुनैपनि बेला महाभियोग लगाउने तयारीका साथ सांसदहरुको हस्ताक्षर जम्मा गरिएको अनुमान गरिएको छ । एउटा बढी हस्ताक्षर गराइएकोबारे बैठक स्रोतले पनि अनभिज्ञता जनाएको छ ।

‘संसद विघटनविरुध्द फैसला गरेका सबैलाई लगाउने हो भने ८/१० वटामा सही गराउनु पर्ने हो,छ वटामा मात्रै किन गराइयो बुझिएको छैन’, स्रोतले भन्यो ।

“सांसदहरु गोकुल बाँस्कोटा,महेश बस्नेत,खगराज अधिकारीलगायतले ढिलो नगरी सभामुख र चार न्यायाधीशमाथि महाभियोग लगाउन दलका नेता तथा अध्यक्ष केपी ओलीलाई सुझाएका थिए । “

भर्खरै सम्पन्न संसदीय दलको बैठकमा पनि अधिकांश सांसदहरुले तत्काल महाभियोग प्रस्ताव दर्ता गर्न माग गरेका थिए । सांसदहरु गोकुल बाँस्कोटा,महेश बस्नेत,खगराज अधिकारीलगायतले ढिलो नगरी सभामुख र चार न्यायाधीशमाथि महाभियोग लगाउन दलका नेता तथा अध्यक्ष केपी ओलीलाई सुझाएका थिए ।

केही सांसदले भने उत्तेजना र आवेगमा निर्णय गर्न नहुने बताए । सांसदहरु घनश्याम भुसाल,भीम रावल र झपट रावलले आवेशमा गरिने निर्णयले पार्ने प्रभावको लेखाजोखा गर्न ओलीलाई सुझाव दिएका हुन् । एक वर्षदेखि पार्टी ओरालो लागेको भन्दै उनीहरुले त्यसको समेत हिसाब गरेर कदम चाल्न सुझाव दिएका थिए ।

भीम रावलले एमसीसीको विषयमा पनि कुरा उठाएका थिए । यत्रो विवाद हुँदा पनि एमसीसीमा पार्टीले धारणा नबनाउनु दु:खद भएको भन्दै रावलले एमसीसीको विरोध गर्न माग गरेको बताइएको छ ।

सांसदहरुका कुरा सुनेपछि अन्तिममा अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो । सो क्रममा उहाँले एमालेविरुध्दको षड्यन्त्रउपर सोच विचार गरेर निर्णय लिने बताउनुभयो । बैठकले यसबारे सम्पूर्ण निर्णय लिने अधिकार ओलीलाई दिएको छ।

टिप्पणीहरू