जवर्जस्ती करणीका दोषी सुवाष जेल चलान
उदयपुर जिल्ला अदालतबाट १० वर्षअघि जबर्जस्ती करणी मुद्दामा दोषी करार भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनी त्रियुगा नगरपालिका-१३ का सुब्बे भन्ने सुवाष राई हुन् ।
राईविरुध्द २०६८ असार ५ गते जवर्जस्ती करणी गरेको ठहरसहित ५ वर्ष कैद तोकिएको थियो । त्यसउपर उनले पुनरावेदन अदालत राजविराजलाई गुहारेका थिए ।
पुनरावेदन अदालत राजविराजले पनि २०६९ जेठ २ गते जिल्ला अदालत उदयपुरकै फैसलालाई कायम गरेपछि राई फरार रहे । विभिन्न स्थानमा लुक्दैछिप्दै आएका राईलाई उदयपुरको विशेष प्रहरी टोलीले भक्तपुरको सूर्यविनायकबाट पक्राउ गर्न सफल भएको हो ।
उनलाई कैद भुक्तानको लागि आजै उदयपुर अदालतमा बुझाएर कारागार चलान गरिएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए ।
टिप्पणीहरू