चोलेन्द्रमाथिको महाभियोगबिरुध्द को-को उभिए ?

चोलेन्द्रमाथिको महाभियोगबिरुध्द को-को उभिए ?

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि लगाइएको महाभियोगका विरुध्द केही कानुन व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन् । स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीहरुले आज काठमाडौँमा आयोजना गरेको संयुक्त कार्यक्रममा उनीहरुले देशव्यापी आन्दोलन गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै अधिवक्ता पृथ्वीनाथ राईले राजनीतिक पूर्वाग्रह राखेर राणामाथि महाभियोग लगाइएको आरोप लगाए । महाभियोग प्रस्ताव खारेज गर्न माग गर्दै उनले अन्यथा न्यायको धरोहर अदालतमाथि कुठाराघात हुने बताए ।विगतदेखि नै न्यायालयमा राजनीति हुने गरेको भन्दै उनले चोलेन्द्रसमशेरमात्रै त्यसको दोषी नरहेको दाबी गरे । कानुन व्यवसायीहरुले न्यायालय बद्नाम गराएको उनको आरोप छ । एनसेल कान्ड,सुनकान्डजस्ता मुध्दा प्रभावित बनाउन राणामाथि महाभियोग लगाइएको उनले जिकिर गरे ।

“अधिवक्ता अनन्त पराजुलीले एक हप्ताभित्र महाभियोग प्रस्ताव फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।”

त्यस्तै,अधिवक्ता अनन्त पराजुलीले एक हप्ताभित्र महाभियोग प्रस्ताव फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए । दुई महिना लामो आन्दोलनपछि अदालत सुचारु भएका बेला न्यायालयमा अस्थिरता निम्त्याउन महाभियोग ल्याएको उनको दाबी छ ।

आन्दोलनरत अन्य कानुन व्यवसायीलाई कानुनको रक्षकका नाममा दलाली गरेको पराजुलीको गम्भीर आरोप छ । महाभियोग दर्ता भएको दिन फागुन १ गतेलाई आफूहरुले कालो दिनको रुपमा मनाएको उनले सुनाए ।

अर्का अधिवक्ता आकृति रायमाझीले कानुन व्यवसायीहरुको छाता संगठन बार एशोसिएसनलाई केही वकिलहरुले सिण्डिकेटको अखडा बनाएको बताइन् । प्रधानन्यायाधीशमाथि लगाएको महाभियोगको प्रस्ताव आफूहरुलाई मान्य नहुने भन्दै उनले वीस जनै न्यायाधीशलाई महाअभियोग लगाउन माग गरिन् ।

उनले पनि अर्को साताबाट सशक्त आन्दोलनमा उत्रने चेतावनी दिइन् । कार्यक्रममा विश्वभक्त बाबा होम कार्की,त्रिलोक चन्दलगायतले पनि बोलेका थिए ।

टिप्पणीहरू