राष्ट्रपति शैक्षिक सुधार कार्यकमः चार हजार बढी स्कुल समेटिए
सामुदायिक विद्यालय स्तरोन्नतिको लागि सरकारले शुरु गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत मुलुकभर चार हजार एक सय ५७ विद्यालय छनोट भएका छन् । हिजो शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सुधार कार्यक्रममा चार हजार एक सय ५७ विद्यालयलाई छनोट गरेको हो ।
छानिएका विद्यालयलाई भवन निर्माण,आइसीटी ल्याब व्यवस्थापन र प्राविधिक ल्याब निर्माणको लागि सहयोग गर्ने निर्णय भएको छ । कार्यक्रममा परेका विद्यालयहरुमध्ये ९ सय ७६ लाई ४ कोठे भवन निर्माण गर्न अनुदान प्राप्त गरिनेछ । त्यस्तै, ९ सय ६६ दुई कोठे भवन, २ हजार १ सय ६ लाई आइसीटी ल्याब व्यवस्थापन, ८८ प्राविधिक ल्याब र २१ वटा नयाँ प्राविधिक विद्यालय बन्ने भएको छ ।
४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख उपलब्ध गराइने छ । त्यस्तै,दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार उपलब्ध गराउने मन्त्री पौडेलले बताएका छन् ।
त्यसैगरी, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयलाई ३३ करोड ६० लाख र ल्याव सञ्चालन र सुढृढिकरण तथा स्तरोन्नतीको ८८ प्राविधिक धारका ८८ विद्यालयलाई ८८ करोड रकम निकासा गर्ने निर्णय भएको छ ।
मन्त्री पौडेलका अनुसार राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याइएको छ । छनोटमा नपरेका स्थानीय तहका विद्यालयहरुको लागि बाँकी रहेको १ अर्ब ३८ करोड रकम उपलब्ध गराउने तयारी भइरहेको छ ।
अनुदानको लागि मुलुकका ७ सय ३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । प्रस्ताव पेश गर्नेहरुमध्ये ७ हजार ९ सय ८६ विद्यालय भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आइसीटी ल्याब, १ सय १७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र खेलमैदान घेराबेरामा ९ सय ४७ विद्यालय आवेदन दिएका थिए ।
भूकम्पबाट प्रभावित बागमती प्रदेशका १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिए ।
टिप्पणीहरू