पर्यटकलाई पीसीआर नचाहिने व्यवस्था गर्न माग

पर्यटकलाई पीसीआर नचाहिने व्यवस्था गर्न माग

नेपाल वायुसेवा सञ्चालक संघले अन्तराष्ट्र्रिय हवाई यात्रामा पीसीआर र सीसीएमसीसीको अनलाइन फाराम भर्ने व्यवस्था हटाउन माग गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाका कारण अन्यौलतामा रुमलिएको पर्यटन क्षेत्र उकास्न उक्त व्यवस्था हटाउन माग गरेको हो ।

छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलुकहरूले समेत हवाई यात्राका लागि पिसिआर परीक्षणको प्रावधान हटाइसकेकाले नेपालले पनि सोही अनुरुप हटाउनुपर्ने विज्ञप्तीमा उल्लेख छ । हाल सबैजसो मुलुकका नागरिकले पूर्ण खोप लगाइसकेकोले कोरोनाको प्रभाव कम भएको उसको ठहर छ ।

साथै, पर्यटकहरु नेपालमा रहुञ्जेल सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गराउने प्रतिबद्धता पनि विज्ञतिमा व्यक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ८६ प्रतिशतले दुवै डोज खोप लगाइसकेको छन् ।

स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरूले समेत आगामी दिनमा कोरोनाको प्रभाव स्वतः कम हुँदै जाने आकलन गरेकाले धेरै जसो मुलुकहरूले प्रतिबन्धलाई खुकुलो पारेको हो ।

टिप्पणीहरू