माधव नेपालको नाममा १६४ दिन
नेकपा एमालेले माधव नेपालसहित एकीकृत समाजवादीका १४ जना सांसदमाथि कारवाहीको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुध्द पारेको १६४ दिन पुगेको छ ।
एमाले सांसदहरुले गत भदौ २३ गते नवौँ अधिवेशनको पहिलो बैठकदेखि प्रतिनिधिसभामा अवरोध जारी राखेका हुन् । संसद खोल्न सभामुखले १४ जनालाई कारवाही गर्नुपर्ने अन्यथा आफैँले राजीनामा दिनुपर्ने शर्त राख्दै आएको एमालेले आजको बैठक पनि चल्न दिएन ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठक अवरुध्द गरेका थिए । आजको बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
संसदको गतिरोध खुलाउन सभामुख सापकोटाले बोलाएको तीन वटा सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले १४ सांसदलाई पदमुक्त गरेको सूचना नटाँसेसम्म संसद अवरोध कायमै राख्ने बताएको छ ।
टिप्पणीहरू